२८ साउन, काठमाडौ । सप्तकोशीको बहाव उच्च भएपछि नेपाल सरकारले भारतीय सरकारलाई कोशी व्यारेजका सबै ढोका खोल्न आग्रह गरेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई कोशी व्यारेजका सबै ढोका खोल्न आग्रह गरेका हुन् ।
अहिलेसम्म कोशी व्यारेजका ३३ वटा ढोका मात्रै खोलिएको छ । यस व्यारेजमा ५६ वटा ढोका रहेका छन् । सबै ढोका नखोल्दा तराई जलमग्न भएर धनजनको क्षति भएपछि सरकारले भारतसामु यस्तो अनुरोध गरेको हो ।
तराईमा बाढीका कारण उच्च मानविय क्षेति भएपछि आज गृह मन्त्रालयमा सुरक्षा अधिकारीको बैठक बसेको थियो सो बैठकले सप्तकोशीका सबै ढोका खोल्न कुटनीतिक पहल अघि बढाउन परराष्ट्रमन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोही बैठको निर्णय अनुसार परराष्ट्रमन्त्री महराले भारतीय राजदूत सिंहलाई कोशी व्यारेजका सबै ढोका खोल्न अनुरोध गरेका हुन् ।
३० को मृत्यु कैयौ बेपत्ता
अबिरल बर्षासँगै आएको बाढीमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको गृह मन्त्री जनार्दन शर्माले जानकारी दिए । उनका अनुसार झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जना मानिसहरुको मृत्यु भएको छ भने, कैयैँ मानिस बेपत्ता भएका छन ।
देशै भरी बाढी र पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न सुरक्षा निकायलाई उनले निर्देशन दिएका छन् । शनिबार गृहमन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले उक्त जानकारी दिएका हुन् ।