काठमाडौं, २ चैत । एमाले–माओवादीबीच हुने भनिएको पार्टी एकता अन्योल बनेको छ । दुई दलका नेताको मनोवैज्ञानिक त्रासले पार्टी एकता अनिश्चिततातर्फ धकेलिएको छ । यसले दुई पार्टीबीच हुने भनिएको एकताबारे भइरहेका आशंकालाई पनि बल पुर्याएको छ ।
गत असोज १७ गतेका दिन नेपालका मुख्य वामपन्थी शक्ति र वाम पृष्ठभूमिका नेताहरुले एकताको लक्ष्यसहित संघीय र प्रादेशिक निर्वाचनमा काँध मिलाए । फुटको इतिहास बोकेका नेपालका कम्युनिष्ट पार्टी र अस्थिरताको पञ्जामा रहेको नेपाली राजनीतिमा यसले ठूलै तरंग पैदा गर्यो । जनतालाई पनि उनीहरुको यो मिलन मन पर्यो ।
फलस्वरुप कम्युनिष्ट गठबन्धनले निर्वाचनमा बहुमत पायो । त्यसपछि एमाले र माओवादीले पार्टी एकताका लागि गत फागुन ७ गते राति ७ बुँदे आधार पनि तयार पारे । सैद्धान्तिक र वैचारिक दृष्टिकोणले आफूहरु नजिक रहेको देखाउन उनीहले ‘माक्र्सवाद र लेनिनवाद’ लाई मार्गदर्शक सिद्धान्त मान्दै बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामार्फत अघि बढ्ने गरी सहमति गरे ।
तर, पार्टी एकताको औपचारिक घोषणा गर्ने मिति जुरेको छैन । सुरुमा चैत पहिलो साताभित्र पार्टी एकता गर्ने भनियो । त्यसपछि मिति चैत तेस्रो सातासम्मलाई सर्यो । फेरि बैशाख ९ गते लेनिन दिवसको अवसर पारेर पार्टी एकता गर्ने नेताहरुले बताएका थिए । बैशाख लागेपछि अब उनीहरु भन्न थालेका छन्, बैशाख तेस्रो सातातिर एकता हुन्छ ।
दुई दलबीच अहिलेसम्म भएका वार्ता परिणाममुखी नबन्दा एकता प्रक्रिया अनिश्चिततातर्फ धकेलिएको हो । जसले एकताबारे भइरहेका आशंकालाई बल पुर्याएको छ ।
एमालेसँग पार्टी एकताको प्रक्रिया प्रभावकारी बन्न नसकिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रद्द गरेर सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पछिल्लो समय दाहालले ‘सम्मानजनक’ एकताको विषय अगाडि सारेपछि दुई दलबीच भइरहेका वार्ता र छलफलमा ‘ब्रेक’ नै लागेको बताइन्छ ।
सैद्धान्तिक र वैचारिक हिसाबले पनि एमालेसँग केही मतभेद रहेको माओवादी नेताहरु बताउँछन् । तर, अहिलेको पार्टी एकताको प्रस्ताव शान्तिपूर्ण रुपान्तरण भन्ने विचारको जगमा आएकाले सैद्धान्तिक विषयले खासै ठूलो अवरोध नगरेको विश्लेषकहरु बताउँछन् । दुई पार्टीबीच नेता तथा कार्यकर्ता तहमा एकले अर्काेलाई निल्ने वा विलय गर्ने भन्ने मनोवैज्ञानिक त्रासले दुई पार्टीबीचको एकता धकेलिएको उनीहरुको बुझाइ छ ।