काठमाडौं, १ बैशाख । नयाँ बर्ष मनाउन भारतबाट घर फर्किएका नेपालीमाथी भारतीय प्रहरी र कष्टमका कर्मचारीले रकम असुली गरेका छन् । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत कञ्चनपुरको बनवासा–गड्डाचौकी नाका भएर घर फर्किने नेपालीहरुलाई सीमा क्षेत्रमा रकम असुली गरेका हुन् । बनबासा जंगलमा लुटेराले समेत लुट्ने गरेको मजदुरुहरुले गुनासो गरेका छन् ।
भारतको बनबासाबाट नेपालको महेन्द्रनगरको १० किलोमिटरको यात्रा गर्न नेपाली यात्रुले टाँगाको भाडा ४ सय देखि ५ सय भारु तिर्न बाध्य भएका छन् । नयाँ बर्ष मनाउन नेपाल फर्किएका नेपाली मजदुरसँगबाट धेरै भाडा असुलेका हुन् । बनबासा जंगलमा लुटेराले नसालु पदार्थ खुवाएर मजदुर लुट्ने क्रम रोकिएको छैन । बर्षभरी मजदुरी गरेर फर्किएका नेपालीसँग भारतीय प्रहरी र कष्टमका कर्मचारीहरुले पैसा माग्ने गरेको मजदुरहरुले गुनासो गरेका छन् ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले नेपाली मजदुर घर फर्किने चाप बढेकाले भारतीय पक्षबाट अवरोध गर्ने रकम असुल गर्नेलाई रोक्ने काम गरेको दाबी गरेको छ ।