ललित सिंह, साउन २८, बझाङ ।
बझाङको सदरमुकाम चैनपुर सेती नदी र बाहुलीगाड खोलाले तीन तिरबाट घेरिएको छ । यो सदरमुकाम सुदूरका पहाडी जिल्लाहरुमा सबैभन्दा सुन्दर सदरमुकामको रुपमा परिचित छ । तर, यी दुई नदीका कारण जमिन कटान सुरु भएपछि सदरमुकाम बग्ने डरले स्थानीयबासी चिन्तित र त्रसित हुने गरेका छने ।
बहुलाहा खोलाको रुपमा चिनिने बाहुलीगाडमा कुन दिन बाढी आउने हो र सदरमुकाम सखाप पार्ने हो भन्ने डर हुन्छन् चैनपुरबासी । सदरमुखकाम चैनपुर बचाउ अभियानका लागि बर्षेनी करोडौ रकम आउने भए पनि कार्यान्वयन फितलो हुँदा नदी नियन्त्रणमा खासै प्रगति हुने सकेको छैन ।
ऐतिहासिक स्थल चैनपुरलाई बर्खायामको बाढीबाट बचाउन स्थानीयबासीले सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन् । खोलामा बाढी आउनेबित्तिकै जुनसुकै बेला चैनपुरको अस्तित्व खतरामा पर्ने उनीहरुको भनाइ छ ।
नदी तटबन्धको जिम्मा पाएका ठेकेदारहरु र जिल्लाका सरोकारवाला निकायकै लापरबाहीमा सदरमुखकाम चैनपुर जोखिममा परेको स्थानीयको आरोप छ ।
बर्खायाम सुरु भएपछि साइपाल हिमालबाट आउने ठूलो बहावसहितको सेती नदी र सुर्मा सरोबरबाट आउने बाहुलीगाडले कटान सुरु गरेपछि चैनपुरबासी त्रसित हुने गरेका छन् । स्थानीय प्रशासनले भने चैनपुर संरक्षणका लागि सरकारी स्तरबाटै ठूलो योजना बनाउनुपर्ने जनाएको छ ।
सदरमुकाममा कटान नियन्त्रण गर्न सरोकारवाला निकायले यथाशीघ्र पहल गर्न जरुरी छ ।