काठमाडौं, २७ चैत । बालअधिकारका लागि सचेतना जगाउने अभियानका साथ प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् । एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेले सगरमाथा आरोहण गर्नलागेका हुन् ।
मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले बाल अधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए । रामेछाप निवासी पाण्डेले विश्व स्काउट र राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर तथा ललितपुर स्काउटको स्वर्णजयन्तीको प्रतीकचिह्न सगरमाथामा पुर्याउन लागिएको जानकारी दिए ।
पाण्डेलाई विभिन्न संघसंस्थाको झण्डा तथा प्रतीकचिह्न हस्तान्तरण गर्दै प्रदेश–३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले स्काउटमा लागेर विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्नु देशकै गौरव भएको बताए । पाण्डेसँग अन्य आठ जनाले सगरमाथा आरोहण गर्दै छन् ।