काठमाडौं, २५ चैत । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, र सम्मानका आधारमा नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बन्ध नयाँ उचाइमा पुर्याइ विकासमा सहकार्य गर्ने बताए । ओली र मोदीले नयाँ दिल्लीमा द्धिपक्षीय भेटवार्तापछि संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर आपसमा सहकार्य र सहयोगबाट मात्र आर्थिक विकास हासिल हुने बताए । प्रधानमन्त्री ओलीले नेपालको आर्थिक विकासमा भारतको सहयोगको अपेक्षा गरेको उल्लेख गरेकामा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारको प्राथमिकताअनुसार भारतले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
द्धिपक्षीय वार्ताका क्रममा दुई देशबीच तीन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको थियो । दुई देशलाई जलमार्गबाट जोड्ने, रक्सौल–काठमाडौं रेलमार्ग विस्तार गर्ने र कृषिमा आधुनिक प्रविधि अपनाउन समझदारी भएको हो । द्धिपक्षीय वार्तापछि दुई देशले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज साँझ स्वदेश फर्कने कार्यक्रम छ । स्वदेश फर्कनुपहिले प्रधानमन्त्री ओलीले उत्तराखण्डको गोविन्ददेव पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा विशेष सम्बोधन गर्नेछन् ।