चीनले बनाइदिएको बाँधको जलविद्युत भारतले नकिन्ने चेतावनी
काठमाडौं, २३ चैत । भारतीय संचारमाध्यमले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई प्राथमिकतामा राखेका छन् । तर, समाचार र विचार मार्फत उनीहरुले ओलीबारे आलोचनात्मक टिप्पणी गरेका छन् । भारतीय मिडियाले ओलीलाई चीनसँग जोडेर आलोचनात्मक समाचार र विचार प्रकाशन–प्रशारण गरेका हुन् ।
कालो हरिण मारेको काण्डमा जेल सजाय पाएका बलिउडस्टार सलमान खानको समाचारले बजार तताइरहेका बेला भारतीय मिडियामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणले पनि प्राथमिकता पाएको छ ।
तर, भारतीय पत्रकार र लेखकले ओलीको भ्रमणलाई निकै आलोचनात्मक ढंगले व्याख्या विश्लेषण गरेका छन् । ओलीकै कारण भारतभन्दा चीनसँग नेपाल नजिकिएको भन्दै समाचार र विचार प्रकाशित भएका छन् ।
ओलीलाई चीन समर्थक प्रधानमन्त्रीको रुपमा ब्याख्या गर्दै भारतीय सञ्चारमाध्यमले भारतले यसमा सजग हुनुपर्ने पनि जिकिर गरेका छन् । ओली प्रधानमन्त्री भएपछि चीन समर्थक शीर्षकमा समाचार प्रकाशित गरेका भारतीय सञ्चारमाध्यमले अहिले पनि त्यही कुरालाई दोर्होयाएका छन् ।
चीनले बनाइदिएको बाँधको जलविद्युत भारतले नकिन्ने चेतावनीसहित भारतीय मिडियाले ओलीलाई अफ्ठ्यारो पार्ने खालका समाचार प्रकाशन र प्रसारण गरेका छन् । द इन्डियन एक्सप्रेसले ’प्रधानमन्त्री मोदीले ओलीलाई भन्ने छन्, यदि चीनले बाँध बनाउँछ भने त्यो विद्युत् भारतले किन्दैन’ शीर्षकको समाचार प्रकाशित गरेको छ ।
भारतीय सरकारी अधिकारीलाई उधृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, कूटनीतिक क्षेत्रमा नरमरुपमा प्रस्तुत भए पनि ऊर्जा र सुरक्षाबारे भारतको ’रेडलाइन’ प्रष्ट पारिनेछ । प्रधानमन्त्री ओलीको पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युतको उत्पादनमा प्राथमिकता दिने कुराले पनि भारत झस्किएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख गरिएको छ ।
अरुण तेस्रोबाट उत्पादित जलविद्युतको ठूलो परिणाम भारतले किन्ने कुरा समाचारमा चर्चा गरिएको छ । तर, चीनले उत्पादन गरेको विद्युत् भने भारतले नकिन्ने कुरा भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
भारतका अन्य चर्चित पत्रिका द हिन्दु र टाइम्स अफ इडियाले प्रधानमन्त्री ओलीको अन्तर्वार्ता छापेका छन् । अन्तर्वार्तामा चीनले नेपाललाई ऋणको भारी बोकाउने कुरा उल्लेख गरेका छन् । द हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री ओली भन्दा पनि नेपाली कांग्रेस भारतविरोधी हुने भन्दै चिन्ता जनाएको छ ।
हिन्दुस्थान टाइम्सको ११ औँ पेजमा तीन वटा समाचार सामाग्री भ्रमणसम्बन्धी छ । नेसनल पोलिटिकल एडिटर प्रशान्त झाको विश्लेषण तीन कोलममा प्रकाशित छ । भारतीय टेलिभिजनले पनि ओलीको भ्रमणलाई प्राथमिकतामै राखेका छन् । उनीहरुले चीनसँग जोडेर ओलीबारे विभिन्न आशंकाहरु व्यक्त गरेका छन् । यद्यपि, ओलीको भ्रमणले नेपाल र भारत अझै नजिकिने विश्लेषण पनि उनीहरुले गरेका छन्