दार्चुलाको गोकुलेश्वर एयरपोर्ट सञ्चालनमा नआउदा स्थानिय प्रभावित | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

वासुदेव बडु , साउन २७ , दार्चुला ।२०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर एयरपोर्ट अझै सञ्चालनमा आउन सकेको छैन । एयरपोर्ट सञ्चालनमा नआउँदा दार्चुलाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् भने पर्यटन तथा अन्य व्यापार–व्यवसायमा नकारात्मक असर परेको छ ।

माओवादी राजनीतिक मूलधारमा आएको एक दशक बितिसक्यो । माओवादीकै नेतृत्वमा तीनवटा सरकार बनिसके । तर, १६ वर्षअघि ध्वस्त भएका पूर्वाधारहरु पुनर्निर्माण नगरिँदा दार्चुलाबासीले गोकुलेश्वर एयरपोर्ट उपयोग गर्न पाएका छैनन् । एयरपोर्ट सञ्चालनमा नआउँदा स्थानीयबासीले त दुःख पाइरहेका छन् नै, पर्यटन व्यवसायमा पनि गम्भीर असर परिरहेको छ ।

दार्चुलामा पर्यटनको प्रचुर सम्भावना रहेको मालिकार्जुन धाम, अपिहिमाल, मार्कण्डेय गुफा, सुर्मासरोवर ताल, बरमदह ताल, व्यास उपत्यका जस्ता पर्यटकीय स्थल छन् । एयरपोर्ट सञ्चालनमा आए स्थानीय युवाका लागि रोजगारीका अवसर प्राप्त हुने व्यवसायी बताउँछन् ।
दार्चुलाबासीले २०६६ सालमै पर्यटन मन्त्रालयमा एयरपोर्ट सुचारु गरिदिन भन्दै ज्ञापन पत्र पनि बुझाएका थिए । तर, मन्त्रालयले बेवास्ता गरेको उनीहरु बताउँछन् । एयरपोर्ट निर्माण भएमा दार्चुलाबाट काठमाडौं केही घण्टामै पुग्न सकिन्छ । तर, अहिले चार दिन समय व्यतीत गर्नुपर्ने बाध्यता छ ।

एयरपोर्ट सञ्चानमा ल्याउन सके स्थानीय स्तरमा उत्पादित जडिबुटीले बजार पाउने व्यवसायी बताउँछन् । साथै, दुःख–बिराम र अन्य कामका लागि पनि दार्चुलाबासीले निकै राहत पाउने थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);