काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी २३ देखि २५ सम्म हुने तय भएको छ । पहिलो पटक प्रधानमन्त्री भएका वेलामा समेत भारतसँग प्रतिस्पर्धी अभिव्यक्ति दिएर चर्चामा रहेका प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि पहिलो अन्तर्राष्ट्रिय भ्रमण भारतबाट सुरु गर्दै छन् ।
प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी, विश्लेषक तथा पूर्वप्रधानमन्त्रीहरुले बोलेका कुरा कुटनीतिक टेबुलमा राखेर कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफूले भारतबाटै भ्रमण सुरु गर्ने घोषण गर्दै आफू फर्कदा भारतसँगको सम्बन्धमा सुधार आउने दावी गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने नेपालमा राष्ट्रियताका मुद्दा कुटनीतिक टेबुलमा भन्दा सडक र भाषणमा सिमित हुने गरेको भन्दै प्राधानमन्त्रीले अव भारत भ्रमणका क्रममा त्यसलाई तोड्नुपर्ने बताएको छ ।
उसले दुइ देशको सम्बन्ध सडक र भाषणमा नभएर कुटनीतिक टेबुलमा हुनुपर्ने र कुटनीतिक टेवुलमा बस्नु अघि पर्याप्त छलफल र अध्ययन गरी आफूलाई बलियाे रुपमा प्रस्तुत गर्नुपर्ने बताएको छ ।
भारतसँगको सम्बन्ध सबैभन्दा निकट र संवेदनशील भएको जानकारहरु बताउँछन् । उनीहरु भारतसँग विश्वास लिएर राजनीतिक तहको सम्बन्ध स्थापित गर्दै कुटनीतिक तहमा खरोसँग उत्रिन सक्नुपर्ने बताउँछन् ।
नेपालले भारतसँग विकास सहयोग लिनका लागि भारतको आन्तरिक सुरक्षा संबेदनशीलतामा विश्वास आर्जन गर्नुपर्ने विश्लेषकहरुको तर्क छ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि प्रधानमन्त्रीले भारतसँग विश्वास आर्जन गर्नु नै पहिलो प्राथमिकता भएको भन्दै दुइ देशको सम्बन्धमा रहेका असमानता हटाउन प्रबुद्ध समुहले राखेका विषय कार्यान्वयन गर्नुपर्ने बताउँछन् ।
नेपाल भारतबीचको सम्बन्ध कुटनीतिक वा राजनीतिक मात्र नभएर धार्मिक र सांकृतिक तहमा पनि रहेको छ । यसलाई एउटा मात्र पक्षबाट हेरियो भने त्यो अपूर्ण हुन सक्छ । प्रधानमन्त्री ओलीको छवी भारतसँगको सम्बन्धमा अन्य प्रधानमन्त्रीको भन्दा केही फरक बनेको छ ।
त्यसैले उनीबाट फरक अपेक्षाहरु रहेका छन् । नेपाल–भारतबीचको सम्बन्धमा अविश्वास हटाउन उसका सरोरकारका विषयमा विश्वास आर्जन गर्दै नेपालमा पनि उसले थालेको परियोजना पूर्णताको ग्यारेन्टी गरिनुपर्छ । त्यसबाहेक दुइ देशका साझा हितमा नयाँ कामको थालनी भए विश्वासका साथमा जनस्तरको सम्बन्धसमेत सुमधुर बन्न सक्छ ।