गोली हानी श्रीमतीको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गोली हानी श्रीमतीको हत्या

shoot

नेपालगन्ज, १७ चैत । खाना खाइसकेपछि टिभी हेर्दै निदाएकी १२ वर्षीया निशा बर्माले मध्यराति चट्याङ परेजस्तो आवाज सुनिन् । झल्याँस्स ब्युँझँदा आमा रोइरहेकी थिइन् । कोखाबाट रगत बगेको देखेपछि उनको होसहवास उड्यो । उनले छुन नपाउँदै अर्को आवाज आयो, आमा ओछ्यानबाट भुइँमा ढलिन् ।

घटना बिहीबार मध्यरातिको हो । बाँकेको डडुवा गाउँपालिका–३, वनकट्टीकी निशाले आफ्नी २८ वर्षीया आमा शान्तीदेवीको हत्या आफ्नै आँखा अगाडि देखिन् । आफ्नै बाबु सञ्जयकुमार बर्माले गोली प्रहार गरेर शान्तीदेवीको हत्या गरेका थिए । शान्तिदेवीले दुई हात जोडेर नमार्न अनुरोध गरिरहँदा पनि सुन्दै नसुनी सञ्जयले उनको जीवनलीला समाप्त पारिदिए ।

बाबुको हातमा बन्दुक देखेपछि निशा डरले कोठाबाट भागिन् । तेस्रोपटक बन्दुक लोड गर्दै गरेका सञ्जयले आफैंलाई समेत मार्नसक्ने डरले उनी बज्यैको कोठातिर दौडिइन् । बन्दुक पड्केको आवाजले तल्लो तलामा रहेकी सञ्जयकी आमाको निद्रा खुलिसकेको थियो । उनले भाग्दै आएकी नातिनीलाई बाहिर निकालिन् । निशाको अझै चेत खुल्न सकेको छैन ।

अर्धपागलझैँ भएका सञ्जयकुमारले श्रीमती मारेको देखेपछि उनकी आमाले बाहिरबाट ढोकाको चुकुल लगाइदिन् । तत्कालै नजिकैको बनकट्टी प्रहरी चौकीबाट खटिएको प्रहरीले हतियारसहित सञ्जयकुमारलाई नियन्त्रणमा लियो । पारिवारिक स्रोतका अनुसार सञ्जयले यसअघि पनि पत्नी शान्तीदेवीको हत्या गर्ने प्रयास गरेका थिए । परपुरुषसँग सम्बन्ध गाँसेको भन्दै निर्घात कुटपिट गर्नुका साथै विष खुवाउने प्रयाससमेत गरेका थिए ।

शान्तीदेवीको शव पोस्टमार्टम गरी जेठाजुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटना भएको कोठाबाट दुई राउन्ड बाह्रबोरको खोकासमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखाका इन्जार्च रणबहादुर बिष्टका अनुसार सञ्जयले आफ्नै नाममा दर्ता भएको बाह्रबोर बन्दुकले दुई राउन्ड गोली प्रहार गरी श्रीमतीको हत्या गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ३० वर्षीय सञ्जयकुमारले परपुरुषसँग सम्बन्धमा रहेकाले सहन नसकी शान्तीदेवीको हत्या गरेको स्वीकारेका छन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);