एजेन्सी, १३ चैत । अमेरिकाले चीनबाट आयात गर्ने सामानमा भन्सार महसुल बढाउने घोषणा गरेसँगै दुई मुलुकबीच मात्र नभई विश्व व्यापारमै यसले हलचल ल्याएको छ ।
दुई शक्तिशाली र ठूला अर्थतन्त्र भएका मुलुकको ‘व्यापार युद्ध’ बाट विश्व अर्थतन्त्र र वित्तीय बजारमा तरंग फैलिएको छ । वर्षौंदेखि चीनले बौद्धिक सम्पत्ति चोरी गरेको भन्दै अमेरिकाले महसुल वृद्धि गरेको कदमको बदला लिने उद्देश्यका साथ चीनले अमेरिकामा लगानी घटाउने निर्णय गरेको छ । चीनबाट १ हजारभन्दा बढी प्रकारका सामान आयात गर्दै आएको अमेरिकाले ती सामानमा २५ प्रतिशतसम्म भन्सार महसुल थप्ने निर्णय गरेको छ ।
चीनबाट आयात गर्ने ६० अर्ब अमेरिकी डलर बराबरको सामानमा भन्सार महसुल वृद्धि गर्ने अमेरिकी घोषणापछि चिढिएको चीनले पनि लगत्तै अमेरिकाबाट आफूले आयात गर्ने ३ अर्ब डलर बराबरको सामानमा महसुल बढाउने औपचारिक घोषणा गरेको छ । चीनको राज्य सञ्चालित अर्थतन्त्रबाट वर्षौदेखि अन्यायपूर्ण प्रतिस्पर्धा चलिरहेपछि त्यसको सामना गर्न आवश्यक कदम चालिएको अमेरिकी सरकारको भनाइ छ ।
यस्तो समस्या समाधान गर्न लामो समयदेखि चीनसँग वार्ता गरे पनि सफल हुन नसकेको अमेरिकाको भनाइ छ ।