काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको बचाउ गरेका छन् ।
जारी केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका नेताहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको हारको दोष सभापति एक्लैलाई दिन नमिल्ने बताएका छन् । उनीहरुले सामूहिक निर्णयका आधारमा टिकट वितरण गरिएको भन्दै सभापतिमाथि दोष थोपर्नु अन्यायपूर्ण हुने बताए ।
सोमबारको बैठकमा रमेश लेखक, डाक्टर डिला संग्रौला र लक्ष्मी परियारले सभापतिको आलोचना गरेर पार्टी बलियो नहुने भन्दै हारको सामूहिक जिम्मेवारी लिइ पार्टी सुदृढीकरणमा लाग्नुपर्ने धारणा राखे । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरुले पार्टीभित्रको गुटबन्दीदेखि एमाले र माओवादी केन्द्र मिलेका कारण पार्टीको हैसियत कमजोर बनेको धारणा राखेको जानकारी दिए ।
केन्द्रीय सदस्यहरुले बोल्ने क्रम नसकिएकाले शुक्रबार सुरु भएको बैठक आज पनि बस्ने छ । बैठक विहान ९ बजे बोलाइएको छ ।