जब बाटैले बाटो छेक्छन्... | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

जब बाटैले बाटो छेक्छन्…

aapanga

काठमाडौँ, १२ चैत । अपाङ्ग महिला संघकी सदस्यसमेत रहेकी दृष्टिविहीन सरिता लामिछाने उदास छिन्, कम्तीमा सरकारी भवन र शैक्षिक संस्थाहरू मात्रै अपाङ्गमैत्री भइदिए कति सहज हुन्थ्यो । ह्विलचेयरमा कलेज जाँदै खोटाङकी रजनी राई (बायाँ) र ह्विलचेयरमै कैलालीकी जेनिशा कडायत ।

‘दृष्टिविहीन, ह्विलचेयर युजर, कान नसुन्ने सबै किसिमका अपाङ्गता भएकालाई काम गरेर खान गाह्रो छ । अव्यवस्थित संरचनाले झनै पिरोलिने अवस्था छ,’ उनले दुखेसो पोखिन्, ‘अपाङ्गता भएका मान्छेहरू फेरि सबलाङ्ग बन्न नसक्लान्, तर सबलाङ्गहरू जुनसुकै बेला दुर्घटनामा परी अपाङ्ग बन्न सक्छन् । त्यसैले अपाङ्गमैत्री संरचना बनाउनुपर्छ ।’

सहरका संरचना, बाटोघाटो र भवन बनाउने मानिसले लामिछानेले जसरी सोच्दैनन् । नयाँ बनिरहेका संरचनामा समेत ह्विलचेयर प्रयोगकर्तालाई ध्यान दिइँदैन । फरक क्षमता भएका मानिसको समस्या र आवश्यकतालाई ध्यान दिएर बाटोघाटो र संरचना नबनाइँदा थाहै नपाई अपाङ्गता भएका युवाहरू अवसरबाट वञ्चित भइरहेका छन् ।

कैलालीकी २१ वर्षीया जेनिशा कडायत नारायणटारको एक कलेजमा प्लस–टु पढ्छिन् । उनको दिनचर्या अन्य विद्यार्थीको जस्तै सामान्य छ, कलेज जाने, पढ्ने, घर फर्किएर कलेजका टास्क गर्ने । तर जब बाटोको कुरा आउँछ उनी अरूभन्दा फरक छिन् । १७ वर्षकै उमेरमा ढलेको रूखले किचेर ढाडमा चोट लाग्यो । समयमा उपचार भएन । धनगढीबाट भेरी अञ्चल अस्पताल हुँदै, टिचिङ भएर अन्त्यमा किस्टमा शल्यक्रिया त भयो तर खुट्टा टेकेर हिँड्न नमिल्ने भयो । उपचारमा १० लाख जति खर्च भयो । उनी ह्विलचेयर प्रयोगकर्ता भइन् । जब उनले ह्विलचेयरको सहारा लिनुपर्ने भयो, तब थाहा पाइन्, सहर र समाज ह्विलचेयर प्रयोगकर्ताको रहेनछ ।

उनी साइन्स पढ्न चाहिन्थन् तर त्यसका लागि आवश्यक अंक आएन । शिक्षा संकायमा भर्ना भइन् । शिक्षा नै पढ्नुको अर्को कारण पनि छ । ‘अरू विषय पढ्न टाढा जानुपर्छ, म ह्विलचेयरमा धेरै टाढा जानै सक्दिनँ,’ उनले भनिन् । खगेन्द्र नवजीवन केन्द्रमा बसिरहेकी उनलाई नजिकका कलेज भए जान सजिलो हुन्छ । ‘सार्वजनिक गाडीले ह्विलचेयर प्रयोगकर्तालाई राख्न मान्दैनन्, ट्याक्सी बल्लबल्ल माने पनि दिनहुँ त्यति धेरै भाडामा खर्च गर्न पनि सकिन्न । त्यसैले नजिकको कलेजमा जे पढाइ भयो, त्यहीं पढ्नुपर्छ,’ कडायतले बाध्यता पोखिन्, ‘कलेजको होस्टलमा बसेर पढ्नलाई ती स्थान पनि अपाङ्गमैत्री छैनन् ।’

जेनिशाजस्तै ह्विलचेयरमै पढाइलाई निरन्तरता दिइरहेकी अर्की विद्यार्थी हुन् १९ वर्षीया रजनी राई । खोटाङकी राई नारायणटार नजिकैको कलेजमा पढछिन् । किशोरावस्थामै दुर्घटनामा परेपछि उनी पनि ह्विलचेयर प्रयोग गर्छिन् । १४ वर्षको उमेरमा रूखबाट लडेर उनको खुट्टा भाँच्चियो । तर, यसले पढ्ने इच्छालाई भाँच्न सकेन । ९ कक्षादेखि उनी पढ्न काठमाडौंमा भर्ना भइन् । एसईईमा सामान्य अंक ल्याई पास गरेपछि जतिसक्दो नजिकको कलेजमा भर्ना लिन चाहिन् । ‘हामीजस्तालाई हतपत भर्ना नै लिन मान्दैनन्,’ उनले भनिन् ।

स्कुल पढुन्जेल उनलाई खास गाह्रो भएन । किनकि स्कुल खगेन्द्र नवजीवनको हाताभित्रै थियो । तर एसईई पास गरेपछि कलेज पढ्ने धोको पुर्‍याउन हाताबाहिर निस्कनुपर्ने भयो । आफै एक्लै कलेज जान सक्दिनन् उनी । किताब–कापी किन्न पनि बाहिर हिँड्नैपर्ने हुन्छ । आफू बस्ने ठाउँको हाताबाहिर सडकमा पुग्न पनि उकालो कट्नुपर्ने हुन्छ, जहाँ उक्लिन अरूकै सहारा चाहिन्छ । ‘बाहिर सडकको खाल्डाखुल्डीले गर्दा ह्विलचेयर बिग्रेको बिग्य्रै गर्छ,’ राईले सुनाइन्, ‘वर्षाको कठिनाइ भनिसाध्य छैन । पानी जमेको ठाउँमा कहाँ कति गहिरो छ भनी थाहै हुन्न, दुर्घटनाको सम्भावना बढ्छ ।’

शिक्षालयहरू अपाङ्गमैत्री नहुँदा उनीजस्ता धेरैले आफ्नो सपना पूरा गर्न सकेका छैनन् । तर कठिनाइका बाबजुद उच्च शिक्षा हासिल गर्ने उनीहरूको लक्ष्य छ । अपाङ्गमैत्री संरचना अभावबाहेक अन्य कारण पनि छन् जसले अपाङ्गता भएकाहरूको मनोबल गिराउँछ । कतै र्‍याम्प भए पनि ठाडो हुन्छ । ठिक्कको भिरालो हुनुपर्छ, तर त्यसले बढी ठाउँ ओगट्ने भएकाले औपचारिकताका लागि जसरी ठाडो र्‍याम्प बनाइएको हुन्छ । पढ्ने कक्षाकोठाबारे कडायतले अनुभव साटिन्, ‘सबै बेन्चमा हुन्छन् हामी मूर्तिजस्तो अगाडि ह्विलचेयरमा हुन्छौं । घोप्टेर लेख्दालेख्दा घाँटी दुख्छ ।’ उनी पढ्ने कलेजमा अँध्यारै भए पनि अपाङ्गमैत्री शौचालय बनाइएकोमा भने खुसी छिन् ।

राईलाई भने रेडियो र टेलिभिजनमा बोल्ने रहर छ । उनले समाचारवाचिका बन्न चाहिने योग्यताबारे अध्ययन गरिन् । ‘समाचार तलमाथि बनाउन खुट्टाले चलाइरहनुपर्ने रहेछ । तर आफ्नो खुट्टा नै चल्दैन,’ उनले भनिन् । रेडियोमा समाचारवाचन गर्ने तालिम लिन पनि उनी विभिन्न ठाउँ धाइसकिन् । तर पायक पर्ने स्थान भेटिनन् । ठाउँ नजिक भए ह्विलचेयर लान नमिल्ने, टाढाको तालिम केन्द्रमा दैनिक आउजाउ सहज नहुने । ‘कम्प्युटर सिक्ने पनि यसै कारण अलमल भयो,’ उनले सुनाइन्, ‘सिक्ने ठाउँ दुई तलामाथि रहेछ, जान आउन नमिल्ने ।’

कडायतले अनुभव सुनाइन्, ‘पसलमा सामान किन्दा होस् वा होटलमा खाना खान छिर्दा, माग्ने आएझैं व्यवहार गर्छन् ।’ पशुपतिमा पूजा गर्न गएका बेला एक दर्शनार्थीले माग्ने भन्ठानेर पैसै थमाइदिएको नमीठो अनुभव पनि छ, उनीसँग । राजधानीबाहिरको शिक्षालय अधिकांशमा अपाङ्गता भएका प्रति संवेदनशील संरचना छैनन् । अपाङ्गता भएकाहरूले शिक्षा लिन राजधानी आउनुपर्ने बाध्यता हुन्छ । सधैंभरि ह्विलचेयरमा बस्दा पछाडि घाउ हुन्छ । यसको औषधि उपचारका लागि पनि जिल्लामा बस्दा कठिन हुने गरेको छ । ह्विलचेयर प्रयोगकर्ताबारे सरकारसँग कुनै आधिकारिक तथ्यांक छैन । भूकम्पपछि अहिले झन्डै १ लाख हाराहारीमा ह्विलचेयर प्रयोगकर्ता रहेको अपाङ्गता भएकाको पक्षमा सक्रिय संस्थाहरूको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);