गोपाल पोखरेल
उदयपुर, ११ चैत । उदयपुरका कृषक पशु बिमा कार्यक्रमतर्फ आकर्षित भएका छन् । आफुले पालेको पशुको मृत्यु वा नोक्सानी भए त्यसको क्षतिपूर्ति पाउने भएपछि कृषकहरु पशु बिमातर्फ आकर्षित भएका हुन् ।
बेरोजगार समस्या समाधान तथा कृषकको आर्थक वृद्धिदर बढाउने उद्दश्यले सरकारले पशु बिमाको व्यवस्था गरेको हो । पशुको मृत्यु वा नोक्सानीमा भएका क्षतिपूर्ति पाउने भएपछि व्यवसायीक पुशुपालन गरिरहेका उदयपुरका कृषक बिमा कार्यक्रमतर्फ आकर्षित भएका हुन् ।
पशुको बिमा गरिसकेपछि पशुको मृत्यु भएमा बिमित रकमको ९५ प्रतिशत रकम फिर्ता पाइने भएकाले ग्रामिण क्षेत्रका पशुपालक कृषक समेत पशुको बिमा गर्न थालेका छन् । कृषकहरुले पशुको बिमा गरेपनि पशुको मृत्यु भएपछि बिमाका कर्मचारी समयमै नआउने गरेको कृषकको गुनासो छ ।
उदयपुरमा चालु आर्थिक बर्षमा कृषकले विभिन्न प्रजातिका झण्डै ३ हजार ५ सय वटा पशुको बिमा गरेका छन् । ३ सय ९८ वटा गाई भैसी, ८ सय ४७ वटा बाख्रा र २ हजार २७ थकुखुराको बिमा गरिएको हो । पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार उदयपुरमा १ लाख ९६ हजार छ सय ७० वटा गाई, ९५ हजार ९ सय ४० वटा भैसी कृषकले पालेका छन् ।
त्यस्तै २ लाख ७२ हजार ३ सय २१ वटा बाख्रा र ४६ हजार ४८ वटा बंगुर रहेका छन् । पछिल्लो समय बैदेशिक रोजगारी छोडेर युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन् । तर सरकारले कृषकलाई अनुदानको व्यवस्था गरेपनि वास्तविक कृषकले अनुदान नपाएको गुनासो गरेका छन् ।