आलोचनाबीच सिरहा खुला दिसामुक्त घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आलोचनाबीच सिरहा खुला दिसामुक्त घोषणा

Siraha dishamukta chetra

सिरहा, १० चैत ।  गाउँ–नगरलाई खुला दिसामुक्त घोषणा गर्दै जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले शुक्रबार सिरहा जिल्लालाई प्रदेश २ को पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिरहालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरे।

घोषणासभाका लागि ५० लाख रकम छुट्याइएको थियो । नाचगान, प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि सत्कारमा रकम खर्चिएको छ । घोषणासभामा मनोरञ्जनात्मक कार्यक्रमका लागि जनकपुरस्थित रंगदर्पणका कलाकारलाई ल्याइएको थियो।

तामझामसहितको यो कार्यक्रममा आउने अतिथिका लागि लहानका महँगा होटल बुक गरिएका छन् । दिवा खानपानका कार्यक्रम सिरहामै आयोजन गरियो । रात्रिबास र रात्रिभोज लहानमा आयोजना गरिएको छ । विपन्न जनताको जिन्दगीमा ऋणको भार थपेर अभियानका रूपमा चलाइएको खुला दिसामुक्त क्षेत्रको तडकभडकपूर्ण घोषणा भने स्वयंमा उपहासको विषय बनेको नेपाली कांग्रेसका नेता शैलेन्द्र यादवले बताए।

सिरहामा नै पनि सबै घरमा शौचालय छैनन् र बनेका पनि प्रयोग गरिएका छैनन् । ‘त्यसमाथि भड्किलो कार्यक्रम गरेर फजुल खर्च गर्नु लज्जास्पद हो,’ उनले भने । गाउँगाउँबाट जनता ओसारेर कार्यक्रम गरी मुख्यमन्त्रीबाट खुला दिसामुक्त जिल्ला घोषणा गराइनुले राम्रो सन्देश गएको छैन,’ यादवले भने।

जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नुअघि विपन्न बस्तीमा बनाइएका शौचालय दिसापिसाबका लागि उपयुक्त नभएको आरोप लागेको छ । खासगरी सुकुमबासीका घरमा भान्सासँगै जोडेर बनाइएका शौचालय प्रयोगविहीन भएको आरोप लागेको छ । सबैलाई शौचालय बनाउन अनिवार्य गरिएका कारण विपन्नलाई ऋणको भार थपिएको आरोप पनि लागेको छ।

सुकुमबासी बस्तीमा सामुदायिक शौचालय बनाइदिएका भए सजिलो हुने धारणा धनगढीमाई नगरपालिका ३ हनुमाननगरकी सुकनी सदायको छ । दिनदिनै प्रहरीबाट पक्राउ परेर एकएक हजार रुपैयाँ जरिवाना बुझाउनुभन्दा ऋणै लिएर पनि शौचालय बनाउने उनले निधो गरिन् । उनलाई छाप्रोपछाडिका जग्गाधनीले चर्पीका लागि खाल्डो नै खन्न दिएनन् । उनीसँग एउटै विकल्प छ, सुत्ने छाप्रोभित्र चर्पी बनाउनु । उनले भनिन्, ‘सुत्ने ठाउँमा चर्पी कसरी बनाउनु ।’

चुलोसँगै चर्पी बनाउन लगाए पनि प्रयोग नगर्ने विपन्नहरूको एउटै प्रश्न छ, ‘बाहिर दिसा गरे रोग फैलिन्छ भन्ने हाकिमले चुलोसँग जोडेर चर्पी बनाउन लगाउनु कतिको स्वास्थ्यमैत्री हो ?’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);