काठमाडौं, ५ चैत । २०७४ साल निर्वाचमय भयो । गत बैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन सुरु भएको थियो । अहिले उपराष्ट्रपतिको निर्वाचित भएसँगै सबै निर्वाचन सकिएका छन् ।
यो सँगै नयाँ संविधान अनुसार हुनुपर्ने सबै निर्वाचन सम्पन्न भएको छ र सबै तहमा जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । संघीय लोकतान्त्रिक नेपालका सबै संरचना कार्यान्वयनमा आएका छन् । अब विकास र समृद्धिको सपना पुरा गर्ने बेला आएको छ ।
२०७४ साल बैसाख ३१ गर्ते पहिलो चरणको स्थानीय तह निर्वाचनबाट सुरु भएको निर्वाचन प्रक्रिया आइतबार उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएको घोषणा भएसँगै सम्पन्न भयो । कुनै राजनीतिक दुर्घटना नभए अबको पाँच बर्ष राज्यका मूल निकायको निर्वाचन हुने छैन ।
स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा हुँदै, प्रदेश सभामुख-उपसभामुख, मुख्यमन्त्री, प्रतिनिधिसभाको सभामुख-उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष-उपाध्यक्ष, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेको छ ।
सबै तह र तप्कामा जनप्रतिनिधि चयन भएसँगै अब मूलकले विकासको गति लिने आम नागरिकको अपेक्षा छ । अब निर्वाचन जितेर जो जो पदमा पुगे उनीहरुले निर्वाचनको समयमा देखाएको विकास र समृद्धिको सपना पुरा गरेर देखाउने समय आएको छ ।
११ महिनाको अन्तरालमा स्थानीय तहका तीन चरण बैशाख ३१, असार १४ र असोज २ गते गरी करिब ३५ हजार प्रतिनिधि निर्वाचित भए । जसमा करीब १५ हजार महिला र ६ हजार ६ सय दलित अपाङ्ग अल्पसंख्यक गरी सबै बर्ग र क्षेत्रको प्रतिनिधित्व भएको निर्वाचन आयोगको भनाइ छ ।
मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनबाट ८ सय ८४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिसभामा दुई सय ७५, राष्ट्रियसभामा ५९ र सातवटै प्रदेशमा गरी पाँच सय ५० जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
यससँगै संघीय लोकतान्त्रिक नेपालका सबै संरचना कार्यान्वयनमा आएका छन् । अब बाँकी छ त केवल त्यसको प्रभावकारी कार्यान्वयन र समृद्धिको यात्रामा सबैको अपनत्व निर्धारण ।
यो यात्रा तय गर्नमा निर्वाचनको थालनी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र निर्वाचन सम्पन्न गरेर कांग्रेस सभापति शेरबहादुर देउवाले सफल निर्वाचनकर्ताको श्रेय लिने मौका पाएका छन् । साथै प्रतिपक्षी दलको रुपमा निर्वाचन गराउन दवाब दिएर एमालेले पनि आफ्नो भूमिका निर्वाह गर्यो ।
निर्वाचन गराउन दबाब दिने एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले सरकारको नेतृत्व गरिरहेका छन् । अब निर्वाचनको बेला जनतामा देखाएको विकासका सपना पुरा गराउने मुख्य जिम्मेवारी पनि उनकै काँधमा छ ।