काठमाडौं, २ चैत । सरकारले एक हप्ता भित्र सबै स्थानीय तहमा आगामी आर्थिक वर्षको अनुमानित बजेट विनियोजन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा एक हप्ता भित्र आगामी आर्थिक वर्षको अनुमानित बजेट पठाउने जानकारी गराएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सबै स्थानीय तहमा सरकारले वित्तीय हस्तान्तरणको माध्यामबाट पठाउने अनुमानित बजेटको काममा लागि परेको बताए ।
मन्त्री खतिवडाले तत्कालका लागि अनुमानित बजेटमा सामान्य बजेट र राजस्व बाँडफाँडबाट आउने बजेटको अनुमानित अंक उल्लेख हुने बताए ।
सरकारले स्थानीय तहमा वित्तिय हस्तान्तरणको माध्यामबाट बजेट पठाउने संवैधानिक व्यवस्था छ । मन्त्री खतिवडाले स्थानीय तहलाई सशर्त र विशेष अनुदानको व्यवस्था केन्द्रिय सरकारले गर्ने बताए ।
अर्थमन्त्री खतिवडाले नयाँ संविधानले थप गरेको अधिकारलाई अवसरको रुपमा लिँदै काम गर्न सबै नगरपालिकाहरुलाई निर्देशन दिए । उनले सरकार मुलुकलाई समृद्ध बनाउन लागि परेको स्पष्ट पारे ।