नगर प्रमुखले नै प्रहरीलाई ढाँट्दा.. | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नगर प्रमुखले नै प्रहरीलाई ढाँट्दा..

nagar pramukh

धनगढी, २ चैत । २७ फागुनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि ‘जनकारबाही गर्ने’ भनी प्रेस विज्ञप्ति जारी गर्यो । उक्त जानकारी प्राप्त गरेलगत्तै कैलाली प्रहरीको एक टोली २८ फागुनमा प्रमुख चौधरीलाई सुरक्षा दिन खटिने भयो ।

सुरक्षा निकायका प्रमुखहरूले चौधरीलाई सम्पर्क गरे । उनले आफू काठमाडौंमा रहेको जवाफ दिए । उनको जवाफमा विश्वस्त हुन नसकेपछि प्रहरीले पुनः सोधखोज गर्यो । फेरि पनि त्यस्तै जानकारी प्राप्त भयो । ‘नगरप्रमुख चौधरीले काठमाडौं छु भनेपछि हामी चुपचाप बस्यौं,’ कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले भने, ‘तर सोही दिन (२८ फागुन) राति चौधरीमाथि गोली तथा खुकुरी प्रहार भएको खबर आयो ।’ घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसहित सुरक्षा समन्वय समितिका प्रमुखहरू घटनास्थल पुगे ।

नगरप्रमुख चौधरी घरमै बसेका बेला अज्ञात समूहले काम छ भन्दै बाहिर बोलाएको थियो । बाहिर निस्कनेबित्तिकै बत्ती र ढोका बन्द गरेर उनको टाउको र खुट्टामा खुकुरी प्रहार गरियो, कम्मरनजिकै गोली हानियो । दुईवटा मोटरसाइकलमा आएका चार जनाले खुकुरी प्रहार गर्दा नगरप्रमुखले गुहार मागे । छिमेकीहरू नगरप्रमुखको घरमा पुगेलगत्तै आक्रमणकारी भागेका थिए ।

सुरक्षा थ्रेट रहेको भनेर सुरक्षाका लागि सम्पर्क गर्दा चौधरीले गलत सूचना दिएकाले अप्रिय घटना भएको प्रहरीले जनाएको छ । चौधरीले सही सूचना दिएको भए त्यस्तो घटना नहुने प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलमा आक्रमणकारीले छाडेको से२ प ३६७१ नम्बरको सुजुकी मोटरसाइकल बरामद गरे पनि चोरीको भएकाले कसको हो भनी पत्ता लगाउन समस्या भएको बताइएको छ । प्रहरीले घटनास्थलबाट गोलीको एक खोकाबाहेक अन्य सामग्री नभेटिएको जानकारी दिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा विप्लव नेतृत्वको नेकपाका चार कार्यकर्तालाई सार्वजनिक गर्यो । विप्लव नेतृत्वको राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षत्री, घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी, धनगढी युवा नगर इन्चार्ज पूर्णप्रसाद खनाललाई सार्वजनिक गरेको थियो ।प्रहरी प्रमुख घिमिरेले पक्राउ परेकाहरू घटनास्थलमा नभए पनि सूचना प्रवाह गर्ने कार्यमा संलग्न रहेको बताए । उनले अहिलेसम्म १३ जनाको नाम खुलेको र अन्यको नाम पनि आउन सक्ने बताए ।

थप एक पक्राउ
नगरप्रमुख चौधरीमाथिको आक्रमणमा संलग्न चार जनालाई मंगलबार सार्वजनिक गरेको प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–१ नैनादेवीचोकबाट विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई बिहीबार पक्राउ गरेको जनाएको छ । प्रहरीले पार्टी सदस्य सागर देउवालाई पक्राउ गरेको हो । आजको राजधानीमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);