शीतल निवासबाट शीतल निवासमै | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

शीतल निवासबाट शीतल निवासमै

Bidhya-Bhandari

काठमाडौं, ३० फागुन । सांसदहरू लामबद्ध भएर मंगलबार राष्ट्रपतिको निर्वाचनमा सहभागी भइरहँदा विद्यादेवी भण्डारी राष्ट्रपतिकै हैसियतमा शीतल निवासमा विराजमान थिइन्। गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका लागि उम्मेदवार बनेकी भण्डारीलाई न कुनै सांसदसँग मत माग्नुपर्ने अवस्था थियो, न त चुनावी परिणामबारे चिन्ता नै !

वाम गठबन्धनकी साझा उम्मेदवार भण्डारीले अपेक्षाकृत मत हासिल गरिन् र ५ वर्षे कार्यकालका लागि मुलुकको राष्ट्राध्यक्षमा निर्वाचित भइन्। संघीय संसद् (प्रतिनिधिसभा-राष्ट्रियसभा) र प्रदेशसभाका सांसदहरू राष्ट्रपति निर्वाचनका मतदाता हुन्।

राष्ट्रपतिकै हैसियतमा बुधबार दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गरेकी भण्डारी मंगलबार निर्वाचित हुँदा पनि शीतल निवासमै थिइन्। निर्वाचन आयोगले बहुमतसहित भण्डारी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ। भण्डारीले ३९ हजार २ सय ७५ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसकी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मत प्राप्त गरिन्। भण्डारीले दुईतिहाइ बढी मत पाएकी छन्।

निर्वाचनमा संघीय र प्रदेशसभाका ८ सय ६२ जना सांसदले मतदान गरेका थिए। तत्काल कायम रहेको कुल ५२ हजार ५ सय १ मतमध्ये भण्डारीले प्रतिद्वन्द्वी राईभन्दा २७ हजार ५ सय ४५ बढी मत प्राप्त गरेकी थिइन्। संघीय संसद्का ५ र प्रदेशसभाका १३ जना सांसद मतदानमा अनुपस्थित थिए।

०१८ असार ५ गते भोजपुरको मानेभञ्याङमा जन्मिएकी भण्डारी शीतल निवासबाट शीतल निवासकै बागडोर सम्हाल्ने पहिलो भाग्यमानी राजनीतिज्ञ हुन्। भण्डारी संविधानसभाले नयाँ संविधान बनाएपछि ०७२ कात्तिक ११ मा पहिलो महिला राष्ट्रपति बनेकी थिइन्।

०३९ मा एमालेका तत्कालीन महासचिव स्व.मदन भण्डारीसँग वैवाहिक जीवनमा गाँसिएकी भण्डारी तीन पटक सांसद बनिसकेकी छन्। ०५० को उपनिर्वाचन, ०५१ को मध्यावधि र ०५६ को प्रतिनिधिसभा निर्वाचनमा सांसद पदमा विजयी भण्डारी एमालेको उपाध्यक्ष थिइन्। उनी सांसद, मन्त्री र एमाले उपाध्यक्ष बनिसकेकी छन्। ०६२÷६३ को जनआन्दोलनको बलमा पुनःस्थापित संसद्मा राज्यका सबै निकायमा महिलाको ३३ प्रतिशत सहभागिताका लागि संसद्मा सार्वजनिक महŒवको प्रस्तावको प्रस्तावक थिइन्। उक्त प्रस्ताव पारित भएपछि राज्यको नीति निर्माण तहमा पनि महिलाको सहभागिता बढ्दै गएको छ। एमालेमा रहँदा पार्टी अध्यक्ष केपी ओलीनिकट भण्डारीले ओलीकै इच्छाअनुसार दोहोरिने मौका पाएको एमाले नेता बताउँछन्।

शीतल निवासबाट गुटको राजनीति गरेको भन्दै एमालेभित्रै केही नेताले आलोचना गरे पनि भण्डारी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मन जित्न सफल भएकी थिइन्। ‘उपयुक्त व्यक्तिलाई भोट हाल्ने अवसर जुट्यो,’ मंगलबार राष्ट्रपतिलाई मतदान गरेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सञ्चारकर्मीसँग भने, ‘संविधानले निर्दिष्ट गरेका जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनको अन्तिम चरणमा छौं। संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण हुँदै छ।’

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभामा तीन सांसदका लागि गरेको सिफारिस र राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशमा भण्डारीको भूमिका निष्पक्ष नभएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ। आफ्नो विरोध जनाउन कांग्रेसले पूर्वसांसद राईलाई भण्डारीविरुद्ध उम्मेदवारी दिन लगाएको बताउँदै आएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);