पराजुली प्रधानन्यायाधीश रहिरहे आइतबारदेखि अनशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पराजुली प्रधानन्यायाधीश रहिरहे आइतबारदेखि अनशन

काठमाडौं, ३० फागुन । नागरिक अभियन्ता प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाएर नहटाए आइतबारदेखि आमरण अनशन थाल्ने चेतावनी दिएका छन् ।

उनले मंगलबार सुरु गर्ने तय भएको आमरण अनशन एक साताका लागि स्थगित गरेका छन् । विमान दुर्घटनामा परेर आफ्ना सहकर्मी चिकित्सकसहित धेरै जनाको मृत्यु भएको शोकको घडीमा सत्याग्रह स्थगन गरेको उल्लेख गर्दै डा. केसीले भने, ‘मेरो माग पूरा नभए आगामी आइतबार दिउँसो ४ बजेदेखि पुन: सत्याग्रह सुरु गर्नेछु ।’

प्रधानन्यायाधीश गत साउनदेखि नै सेवा निवृत्त भएको औंल्याउँदै डा. केसीले भने, ‘हामीले जे भनेका थियौं, त्यो सही प्रमाणित भयो । अब उनको सर्वोच्च अदालतमा काम गर्ने नैतिकता मात्र हैन, कानुनी हैसियतसमेत छैन, उनी गैरकानुनी रूपमा त्यहाँ बसिरहेका छन् ।’

पराजुलीले राजीनामा दिएर मात्र नपुग्ने बरु उनलाई छानबिन गरेर कारबाही नै गर्नुपर्ने राज्यको दायित्व रहेको जनाउँदै डा. केसीले भने, ‘उनी सर्वोच्च जस्तो पवित्र ठाउँमा जानु नै अदालतको अपहेलना गर्नु हो ।’

न्यायाधीश चोलेन्द्रशमशेर राणालगायतका सत्यको पक्षमा उभिने न्यायाधीशहरू आम नेपालीका धन्यवादको पात्र रहेको जनाउँदै डा. केसीले भने, ‘सबै न्यायाधीशज्यूहरूले सत्यको पक्षमा उभिएर न्यायालयलाई बन्धक बनाउने र अदालतको गरिमामा ह्रास ल्याउनेहरूलाई पाठ सिकाउनसमेत अपिल गर्छौं ।’

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश पराजुलीलाई पद छाड्न सुझाव दिएको उल्लेख गर्दै डा. केसीले यसको स्वागत गरेका छन् । ‘प्रधानन्यायाधीश पराजुलीको कार्यकाल महिनौं अगाडि सकिए पनि उहाँ नैतिकता, मर्यादा र कानुनविपरीत अहिलेसम्म पदमा रहेको भनेर सर्वोच्च अदालतबाटै आएको आदेशले पनि हामीले बारम्बार भन्दै आएको कुरालाई पुन: पुष्टि गरेको छ,’ उनले भने ।

प्रधानन्यायाधीशले सिर्जना गरेको विवादका कारण बन्धक बन्न पुगेको न्यायालयले बाँकी न्यायाधीशहरूको सुझबुझ र उचित निर्णयको बलमा यो संकट पार गर्नेछ र आफ्ना सबै गलत कामहरूका लागि पराजुली जवाफदेही बनाइनेछन् भन्ने विश्वाससमेत आफूले लिएको डा. केसीले जनाए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);