काठमाडौं, २९ फागुन । बंगलादेशी विमान दुर्घटनाग्रस्त हुँदा घाइते भएका मध्ये २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको काठमाडौं मेडिकल, ग्राण्डी, ओम, मिडसिटी र नर्भिक अस्पतालमा उपचार भइरहेको हो । काठमाडौं मेडिकल कलेजमा एक दर्जनको उपचार भइरहेको छ । तीमध्ये तीन जनालाई आइसीयुमा भर्ना गरिएको छ । चार जनाको ग्राण्डी र चार जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने ओम र मिडसिटी अस्पतालमा एक एक जनालाई भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।
अस्पतालमा आफन्तजनहरुको भीड लागको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पताल पुगेर घाइतेहरुको अवस्था र उपचारबारे जानकारी लिएका छन । सरकारले विमान दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा छ सदस्यीय छानबिन आयोग गठन गरेको छ ।