रेशमलाल चौधरीलाई अस्पतालले काठमाडौं रिफर गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

रेशमलाल चौधरीलाई अस्पतालले काठमाडौं रिफर गर्‍यो

चौधरीलाई बुद्ध एअरको हवाईजहाजमार्फत् काठमाडौं पठाइयाे

सन्तोष रोकाया
धनगढी, २६ फागुन । जिल्ला कारागार कैलालीभित्र ७ दिनदेखि आमरण अनशनमा बसेका कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्यमा समस्या देखिएको भन्दै सेती अञ्चल अस्पतालले काठमाडौं ‘रिफर’ गरिदिएको छ ।

सेती अञ्चल अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन डा. सजन केसीले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको बताए । अनशनका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । शनिबार दिउँसो ३ बजेतिर चौधरीलाई स्वास्थ्य जाँच गराउनका लागि सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले चौधरीलाई बुद्ध एअरको हवाईजहाजमार्फत् काठमाडौं पठाइएको बताए । उनले चौधरीलाई काठमाडौंस्थित केन्द्रीय कारागारमा पठाएर उतैबाट उपचार गरिने जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यको शपथग्रहण गर्न पाउनुपर्ने माग गर्दै टीकापुर घटनाका मुख्य आरोपी चौधरी आमरण अनशनमा बसेका हुन् । उनीसँगै पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका टीकापुर घटनाका अरु अभियुक्तहरु पनि अनशनमा बसेका छन् ।

निर्वाचित सांसद चौधरीलाई शपथ ग्रहण गर्न दिनुपर्ने, आफूहरुलाई रिहा गरिनुपर्ने र संघीयताको सीमाकंन हेरफेर गरेर थारु बाहुल क्षेत्रलाई थरुहट प्रदेश बनाइनुपर्ने आमरण अनशनमा बसेकाहरुले माग गरेका छन् ।

थरुहट आन्दोलनका क्रममा वि.सं. २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ८ जना सुरक्षाकर्मी र एक बालक मारिएका थिए । उक्त घटनामा संलग्न भएको अभियोगमा रेशम चौधरीसहित ५६ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका–चोरी मुद्दा लगाइएको छ ।

चौधरीसहित २४ जना पुर्पक्षका लागि कारागारमा छन् भने अन्य अभियुक्त फरार छन् । टीकापुर घटनापछि फरार भएका चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);