काठमाडौं, २५ फागुन । मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीले राष्ट्रपति निर्वाचनमा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको छ ।
राजपा महासचिव केशव झाका अनुसार अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको हो । वाम गठबन्धन सरकारमा सहभागी हुनेबारे पछिल्ला दिनमा भइरहेको छलफल सकारात्मक बन्दै गएको उनले जानकारी दिए ।
सत्तारुढ एमाले र माओवादी केन्द्रसँग भइरहेका छलफल र वार्ता सकारात्मक ढंगले अघि बढिरहेकाले पनि राष्ट्रपतिमा राजपाले भण्डारीलाई समर्थन गरेको बताइन्छ । संविधान संशोधनमा कुरा मिलेपछि सरकारसँग सहकार्य गर्ने गरी छलफल चलिरहेको र सोही आधारमा राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको राजपाका नेताहरुले बताएका छन् ।
वर्तमान राष्ट्रपति भण्डारी र नेपाली काँग्रेसका तर्फबाट लक्ष्मी राईले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् ।