काठमाडौं, २४ फागुन । उपराष्ट्रपति नन्द बहादुर पुनले अझै पनि महिलाले समान अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले १ सय ८ आैँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।
उनले नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने भुमिकामा महत्वपुर्ण योगदान पुर्याए पनि महिलाले समान अधिकार हासिल गर्न नसक्नु दुखद भएको बताए ।
उनले स्वदेशमा आवश्यक रोजगारी श्रृजना हुन नसक्दा विदेशीएका युवा युवतीले प्रवासी कामदारको रुपमा कैयौँ समस्या भोग्नु परेको बताए । यसले सामाजिक सांस्कृतिक मुल्य मान्यतामा ह्रास ल्याउनुको साथै पारिवारिक विखण्डन ल्याएको उनको भनाई थियो ।
उनले नयाँ संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव मुक्त गर्नुको साथै राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गरेकाले महिलाका लागि केही सहज बनेको बताए ।
महिला, बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले समतामुलुक समाज निर्माणका लागि सरकार सजग र सचेत रहेको बताइन् । Press for Progress भन्ने अन्तराष्ट्रिय नारा भएपनि नेपालमा भने ‘आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने नाराका साथ यो दिवस मनाईएको छ ।