साउन २३ , काठमाण्डौँ । लगातारको वर्षाले सडक बिगारेपछि उदयपुर सदरमुकाम गाईघाटसँग खोटाङ सदरमुकाम दिक्तेललाई जोड्ने गाईघाट–दिक्तेल सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ ।
एक साता अघिसम्म गाईघाटबाट साउने, खाँबु हुँदै फोक्सिनटारसम्म यातायात सञ्चालन हुँदै आएकोमा लगातारको वर्षाले साउने–फोक्सिनटार खण्डको दर्जनौं स्थानमा सडक बिगारेपछि आवतजावतमा समस्या भएको हो । सडक भत्किएपछि अधिकांश सार्वजनिक सवारी साधन साउनेबाटै गाईघाटतर्फ फर्किने गरेका छन् ।
खोटाङ सदरमुकाम दिक्तेललाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य लक्ष्यका साथ २४ वर्षअघि गाईघाट–दिक्तेल सडक निर्माण गर्न थालिएको हो । तर, एक सय ३१ किलोमिटर लामो यो सडक बजेट अभावमा सम्पन्न नहुँदा स्थानीयले सधैं सास्ती पाइरहेका छन् ।
पाँच वर्षअघि खोटाङतर्फको ७८ किलोमिटर सडक निर्माण गर्ने जिम्मा स्विस परियोजनाले लिएको थियो । उदयपुर खण्डको ५३ किलोमिटर सडकको ट्रयाक खोल्ने काम तीन वर्षअघि नै सकिए पनि सडक नाली, ग्राभेललगायतका पूर्वाधार तयार हुन सकेको छैन ।