सडक दस्तुर दोब्बर हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सडक दस्तुर दोब्बर हुने

hiway sadak

काठमाडौं, २३ फागुन । सडकमा गाडी गुडाएबापत तिर्नुपर्ने सडक उपभोग दस्तुर शतप्रतिशत बढ्ने भएको छ। सडक बोर्डले सडक दस्तुर बढाउन गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृत गरेको छ। एक साताभित्र राजपत्रमा प्रकाशित भएपछि वृद्धि गरिएको सडक दस्तुर संकलनको काम थालिनेछ।

सडक बोर्ड नेपालका प्राविधिक निर्देशक सागर ज्ञवालीले अर्थले सहमति दिएपछि बोर्डले राजपत्रमा सूचना प्रकाशनको निम्ति सिफारिससमेत गरिसकेको जानकारी दिए। बोर्डले चार वटा राष्ट्रिय राजमार्गमा सवारीसाधन गुडाएबापत लिँदै आएको सडक दस्तुर रकम बढाएको छ। सात वटा सडकबाट पनि दस्तुर लिइने भएको छ। बोर्डले हेटौंडा–नारायणगढ, नारायणगढ–बुटवल, नौविसे–मुग्लिङ र भैरहवा–भुमई सडकखण्डमा हाल मोटरसाइकलको पाँच रुपैयाँ, हलुका सवारीको क्रमशः २०, ३०, २५ र १० रुपैयाँ र भारी सवारी साधनको ३०, ४०, ३५ र १५ रुपैयाँ सडक दस्तुर लिँदै आएको छ।

बढेको रकमलाई भने राजपत्रमा सूचना प्रकाशित भएको एक सातादेखि १५ दिनभित्रै लागू गरिने ज्ञवालीले जानकारी दिए। उनका अनुसार बढेको शुल्कको सम्बन्धित सडक प्रयोगकर्तालाई जानकारी दिएर लागू गरिने भएको छ।

बोर्डका अनुसार हाल वार्षिक ११ करोड ९४ लाख ४६ हजार रुपैयाँ संकलन हुने सडक दस्तुर आगामी आवबाट कम्तीमा २२ करोड रुपैयाँ पुग्नेछ। ज्ञवालीका अनुसार सडक मर्मत गर्न आवश्यक रकम खर्च गर्न नपुगेको र २०५६ सालदेखि हालसम्म यो शुल्कमा कुनै समायोजन नभएकाले पनि एकैपटक दोब्बर गरिएको हो। यस्तो शुल्क समय सान्दर्भिक भएको तर्क बोर्डको छ।

सरकारले देशैभरिको सडक मर्मत गर्ने जिम्मा बोर्डलाई दिएको छ। बोर्डले आवश्यक रकम सम्बन्धित क्षेत्रमा परिचालन गरेर सडक मर्मत गर्दै आएको छ। सडक मर्मतमा आवश्यकताअनुसार खर्च गर्न नसक्दा नियमित, पटके र आवधिक मर्मत प्रभावित हुने गरेको छ। रकम कम भए पनि सम्बन्धित क्षेत्रले प्राथमिकता तय गरेर सडक टालटुल मात्रै गरेर चलाउनुपर्ने अवस्था रहेको बोर्डको भनाइ छ। बोर्डका अनुसार देशैभरको सडक मर्मत गर्न वार्षिक १६ अर्ब रुपैयाँ लाग्ने अनुमान भए पनि सरकारले भने वार्षिक चार अर्ब मात्रै दिने बजेट दिने गरेको छ।

हाल वार्षिक ११ करोड ९४ लाख ४६ हजार रुपैयाँ संकलन हुने सडक दस्तुर आगामी आवबाट कम्तीमा २२ करोड रुपैयाँ पुग्नेछ

बोर्डले उठाएको यस्तो शुल्क जुन सडकबाट संकलन भएको हो, सोही सडकको मर्मतमा खर्च दिने जानकारी पनि ज्ञवालीले दिए। बोर्डले राष्ट्रिय राजमार्गमा उठाएको शुल्क यो सडक मर्मतमा नपुग्ने भए पनि सरकारले दिएको रकम थप गरेर दिँदै आएको छ। बोर्डले देशैभरको सडक मर्मत गर्न सडक विभागका विभिन्न ३४ वटा डिभिजन र २९३ वटा स्थानीय तहलाई रकम दिने गरेको छ। देशैभरको सडक मर्मत गर्न उठाउने अन्य शुल्क भने सवारीसाधानमा प्रयोग हुने इन्धन र यातायात व्यवस्था विभागले सवारी दर्ता प्रमाणपत्रमा लगाएको दस्तुरलाईसमेत प्रयोग गर्ने गरेको छ।

बोर्डका अनुसार सडकको नियमति मर्मत वर्षेभरि गर्नुपर्छ। पटके मर्मत वर्षमा कम्तीमा दुई पटक गर्ने तथा खाल्डाखुल्डी टाल्ने गर्नुपर्छ। आवधिक मर्मत भने हरेक ६ देखि सात वर्षमा गर्नुपर्ने सर्त तोकिएको छ। तर, आवधिक मर्मत नगरेका कारण सडक पूर्ण रूपमा बिग्रने र पुनः मर्मतमा पूरै सडक नै गर्नुपर्ने भएकाले पनि अधिक खर्च हुने गरको बोर्डको बुझाइ छ।

सात वटा नयाँ राजमार्गबाट शुल्क उठाइँदै

बोर्डले हाल चार वटा मात्रै राष्ट्रिय राजमार्गबाट यस्तो शुल्क उठाउने गरेकामा अब भने थप सात वटा राष्ट्रिय राजमार्गका सडकबाट शुल्क उठाउने भएको छ। बोर्डले अर्थबाट स्वीकृत पाएकाले काँकडभिट्टा–दमक, दमक–इटहरी–कोसी, जोगबनी–धरान–धनकुटा खण्डको विराटनगर–धरान खण्ड, कोसी–चौहर्वा, हेटौंडा–वीरगन्ज र वीरगन्ज–पथलैया खण्डमा पनि शुल्क उठाउने भएको छ। यी सातवटै सडकमा सरकारले २०६५ सालदेखि नै स्वीकृत भएको दस्तुर हालसम्म कार्यान्वयन भने भएको छैन। यो शुल्कलाई अन्य सडकमा बढाएर लिएकै दिनबाट कार्यान्वयन गर्ने तयारीमा बोर्ड छ।

दुईवटा राजमार्गबाट दोब्बर

हाल बोर्डले ठेकेदारमार्फत शुल्क उठाएर लिने गरेको छ। ठेकेदार कम्पनीले भैरहवा–भूमई खण्डमा वार्षिक ७५ लाख र हेटौंडा–नारायणगढ सडक खण्डबाट साढे पाँच करोड रुपैयाँ सडक उपभोग दस्तुर तिर्दै आएका छन्। सवारीसाधानको संख्या बढेको र लोकल सवारीसाधनबाट पनि शुल्क असुल गरेर अब भने भैरहवा–भूमईबाट दुई करोड ७७ लाख र हेटौंडा– नारायणगढबाट १३ करोड ८८ लाख माग गरेर सार्वजनिक सूचना जारी गरेको पनि बोर्डले जानकारी दिएको छ। बोर्डका अनुसार जुन कम्पनीले बढी शुल्क दिन्छ उसैबाट सडक दस्तुर उठाएर बोर्डले लिने भएको छ। यो शुल्क बढेको नभएर हाल उठेकै शुल्कमा बढाएर लिने प्रस्ताव गरेको हो। हाल भैरहवा–भूमई खण्डमा बाबु निर्माण सेवाले र हेटौंडा–नारायणगढ सडक खण्डमा स्वच्छन्द निर्माण सेवाले यस्तो सडक उपभोग दस्तुर उठाउने जिम्मेवारी पाएका छन्। आजको अन्नपुर्णपोष्टमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);