२३ साउन, काठमाण्डौँ । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले जनताको सेवा गर्न तयार नहुने कर्मचारीमाथि कडा कार्वाही हुने चेतावनी दिनु भएको छ ।
मन्त्री बस्नेतले जनताको सेवामा हाजिर हुन सबै कर्मचारी तयार हुने दावी पनि गर्नु भयो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले दूर्गम भेगमा जाने कर्मचारीको सेवा, सुविधा बढाउन सरकार तयार रहेको पनि स्पष्ट पार्नु भयो ।
मन्त्री बस्नेतले जतिसक्दो छिटो स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले अन्तरिम व्यवस्था गरेर भएपनि स्थानीय तहमा कर्मचारी पठाउन सरकारले तयारी गरिरहेको पनि स्पष्ट पार्नु भयो । स्थानीय तहमा कर्मचारीको अभाव भईरहेका बेला उहाँले अव तत्काल त्यसको व्यवस्थापन गर्न राजनीतिक सहमति जुटाउन सरकार लागि परेको पनि दावी गर्नु भयो । उहाँले कर्मचारी व्यवस्थापनका लागि संघीय पुनर्संरचना प्रशासनिक आयोगसँग आवश्यक परामर्श भईरहेको पनि जानकारी दिनु भयो । मन्त्री बस्नेतले कर्मचारीहरुको अभावमा स्थानीय तहमा जनताले सास्ती व्यहोर्नु परेकोतर्फ सरकारको ध्यानाकर्षण भईरहेको पनि बताउनु भयो ।
मन्त्री बस्नेतले कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले कर्मचारी प्रशासन भित्र राजनीति हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।