काठमाडौँ ।
वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा जबरजस्ती उठिबास तथा भूमिहीन सुकुम्बासी नागरिकमाथि अमानवीय व्यवहारविरुद्ध नागरिक ऐक्यवद्धता तथा विरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्यापारीमाथि गरेको व्यवहारलाई नजरअन्दाज गर्दा आज सुकुम्बासी नागरिकले दुःख पाउने स्थिति सिर्जना भएको बताउनु भयो । उहाँले फुटपाथमा व्यापार गरेर गुजारा चलाउनेमाथि गरेको दमनको निरन्तरता नै सुकुम्बासी नागरिकमाथिको व्यवहार भएको तर्क समेत गर्नुभयो ।
उहाँले मुलुकमा भएका प्रत्येक परिवर्तनपछि जनताले धोका पाउँदै आएको उल्लेख गर्दै जेनजी आन्दोलनपछि युवालाई सत्ता सुम्पिए पनि उनीहरूको कार्यशैलीमाथि नागरिक समाजबाट पर्याप्त निगरानी हुन नसकेको समेत बताउनु भयो । प्याकुरेलले सुकुम्बासी नागरिक नदी किनार तथा अव्यवस्थित क्षेत्रमा बस्न बाध्य हुनुको कारण खोज्नुपर्ने भन्दै उनीहरूको व्यवस्थापन राज्यको दायित्व भएको बताउनु भयो । उहाँले मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै नागरिकको आवतजावतको अधिकारसँगै बस्न पाउने अधिकारका लागि पनि संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।उहाँले नागरिकको संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यले सुकुम्बासी नागरिकलाई आवास, जीविकोपार्जन र सामाजिक सुरक्षाको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।




