काठमाडौँ ।
नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा राजनीतिक शक्तिबीच तिब्र प्रतिष्पर्धा हुने बताउनुभएको हो । थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४ निर्वाचन र चुनावी संघर्षको वर्ष हुने उल्लेख गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक वर्चश्व कायम गर्न खोज्ने र त्यसको प्रतिवाद लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय तह, प्रदेश सभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा आफूहरूले कायम राखेको राजनीतिक प्रभाव जोगाउन एमालेले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताउनु भयो । त्यसका लागि पार्टीभित्रको एकता सुदृढ गर्न र राजनीतिक प्रतिस्पर्धीका गतिविधिप्रति सचेत रहन उहाँले नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो । थापाले पपुलिस्ट शक्तिहरूले देशभक्त तथा लोकतान्त्रिक दलहरूमा विभाजन ल्याउने, जनतामा भ्रम फैलाउने र सुशासन तथा सम्पती छानबिनको नाममा राजनीतिक दमन बढाउने प्रयास गरिरहेको आरोपसमेत लगाउनु भयो । उहाँले आगामी निर्वाचनलाई सामान्य चुनावका रूपमा लिन नहुने भन्दै नीति, नेतृत्व र जनता राजनीतिक संघर्षका मुख्य आधार भएको बताउनु भयो । विगतको निर्वाचनमा एमालेले आफ्नो प्रमुख प्रतिस्पर्धी पहिचान गर्न र आफ्ना कमजोरी बुझ्न नसकेको समीक्षा गर्दै उहाँले आगामी निर्वाचनका लागि पार्टीले रणनीतिक तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै थापाले आफू र प्रतिष्पर्धी दुवैलाई चिन्नसके मात्रै राजनीतिक संघर्षमा सफलता प्राप्त गर्न सकिने बताउनु भयो ।





