एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यकः महानिर्देशक भट्टराई | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८३, बुधवार

एन्टिबायोटिकको दुरुपयोग रोक्न सचेतना अभियान आवश्यकः महानिर्देशक भट्टराई

काठमाडौँ ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२६ को अवसरमा बुधवार आयोजित प्रभातफेरी कार्यक्रममा उहाँले एन्टिबायोटिकको अनावश्यक, बढी तथा न्युन प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपिरहेको बताउनुभएको हो । उहाँले एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोगलाई व्यवस्थित र नियमन गर्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी भविष्यमा आवश्यक पर्ने रिजर्भ एन्टिबायोटिक औषधिहरूलाई जथाभावी प्रयोग नगरी सुरक्षित राख्नुपर्ने उहाँको भनाइ छ ।

‘एक स्वास्थ्य, एक अभियान ः प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको हो । अभियानले एन्टिबायोटिकको दुरुपयोग रोक्ने, यसको उचित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने र प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । महानिर्देशक भट्टराईले प्रतिजैविक प्रतिरोध मानव स्वास्थ्यसँग मात्रै सम्बन्धित विषय नभई पशु स्वास्थ्य र वातावरणसँग समेत जोडिएको बताउनु भयो । त्यसैले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, पशु स्वास्थ्य क्षेत्र, वातावरण क्षेत्र तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले प्रतिजैविक प्रतिरोध विश्वव्यापी समस्याका रूपमा देखिएकाले नेपालमा पनि विभिन्न सचेतना तथा जनजागरणका कार्यक्रममार्फत सर्वसाधारणलाई यसबारे सुसूचित गर्नुपर्ने बताउनु भयो ।बुधवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट शुरु भएको प्रभातफेरी औषधि व्यवस्था विभागमा पुगेर समापन भएको थियो । सप्ताहव्यापी कार्यक्रममा विभिन्न सरकारी निकाय, संघसंस्था तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

ताजा समाचार