इरानले होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने आफ्नो दुईदिने प्रश्ताव अझै कायम रहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकासँगको वार्ताका लागि इरानको धारणा स्पष्ट रहेको बताउँदै दुईदिने प्रश्ताव इरानको इमानदार प्रयासको प्रमाण भएको उल्लेख गर्नुभयो । उहाँले उक्त प्रश्ताव उपलब्ध विकल्पमध्ये सबैभन्दा तार्किक रहेको दाबी गर्दै अमेरिकाले इरानका सर्त पूरा गरे पश्चिम एसियामा दुई दिनभित्रै सकारात्मक घटनाक्रम अघि बढ्ने र क्षेत्रीय सुरक्षा पुनःस्थापित हुने बताउनु भयो । अमेरिकाले आफ्ना जनताको सन्देश सही रूपमा बुझेको भए अब निर्णय लिनुपर्ने उहाँको भनाइ थियो । इरानले यसअघि गत सेप्टेम्बरमा युद्धविराम र होर्मुज जलडमरु पुनः सञ्चालनका लागि अमेरिकासमक्ष सातदिने प्रस्ताव अघि सारेको थियो । पछि वासिङ्टनले तेहरानका सर्त पूरा गरे प्रश्ताव कार्यान्वयनको अवधि घटाएर दुई दिनमा सीमित गर्न सकिने जनाएको थियो । गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानको राजधानी तेहरानसहित विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा क्षेत्रीय अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो । त्यसयता इरानले होर्मुज जलडमरुमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो । द्वन्द्वरत पक्षबीच गत अप्रिल ८ मा युद्धविराम भएको थियो । त्यसपछि जुन १८ मा इरान र अमेरिकाबीच क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीअनुसार इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा अन्तिम सहमति जुटाउन दुवै देशले अगस्ट १७ भित्र वार्ता गर्ने तालिका थियो । तर, निरन्तर बढ्दो तनावका बीच वार्ताले अपेक्षित प्रगति हासिल गर्न सकेन । होर्मुज जलडमरु विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । यस मार्गबाट ठूलो परिमाणमा विश्वको पेट्रोलियम पदार्थ ओसारपसार हुने भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजार र आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
होर्मुज जलडमरु पुनः सञ्चालन गर्ने इरानको दुईदिने प्रश्ताव अझै कायम
ताजा समाचार
भारतभर हर्षोल्लासका साथ दीपावली पर्व मनाइयो
१ घन्टा अघि
आज गाईपूजा, घरघरमा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना
२४ घन्टा अघि




