ब्राजिलमा सन् २०२६ को राष्ट्रपतीय निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदान आईतवार भएको छ । स्थानीय समयअनुसार बिहान ८ बजे शुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन भएको हो । निर्वाचनमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र लिबरल पार्टीका उम्मेदवार फ्लाभियो बोल्सोनारोबीच प्रतिस्पर्धा भइरहेको छ । फ्लाभियो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् । अक्टोबर ४ मा सम्पन्न पहिलो चरणको निर्वाचनमा बोल्सोनारोले करिब ४७ प्रतिशत सदर मत प्राप्त गरेका थिए । लुला दा सिल्भा भने उनीभन्दा करिब दुई प्रतिशत बिन्दुले पछाडि रहँदै दोस्रो स्थानमा आएका थिए । हालै सार्वजनिक भएका विभिन्न मत सर्वेक्षणले दुवै उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने सङ्केत गरेका छन् । ब्राजिलको निर्वाचन व्यवस्थाअनुसार पहिलो चरणमै कुनै उम्मेदवारले सदर मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गरेमा उनी विजयी हुन्छन् । अन्यथा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच दोस्रो चरणको मतदान गरिन्छ । दोस्रो चरणबाट राष्ट्रपतिमा निर्वाचित हुने उम्मेदवारको टुङ्गो लाग्नेछ ।




