विश्वभर तिब्र गतिमा गहिरिँदै गएका संकटहरूको समाधानका लागि तत्काल प्रभावकारी कुटनीतिक सक्रियता र क्षेत्रीय उपायहरूको खोजी गर्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायले जोड दिएको छ । टर्कीको इस्तानबुलमा शुक्रवारदेखि शुरु भएको नवौँ ‘इस्तानबुल मध्यस्थता सम्मेलन’मा सहभागी कुटनीतिज्ञ तथा द्वन्द्व समाधानविद्हरूले युद्ध रोक्न र दीर्घकालीन शान्ति कायम गर्न संवादको विकल्प नभएको स्पष्ट पारेका छन् । परिवर्तित विश्व परिदृश्यमा शान्ति स्थापनाका निम्ति साझेदारी र नयाँ दृष्टिकोणको खोजी गर्ने उद्देश्यका साथ आयोजित दुई दिने यस सम्मेलनमा झन्डै २०० उच्चस्तरीय कुटनीतिज्ञ, प्राज्ञ तथा द्वन्द्व समाधान विज्ञहरूको सहभागिता रहेको छ । यस वर्षको सम्मेलनको मुख्य नारा ‘शान्तिका लागि साझेदारी र नयाँ दृष्टिकोणः बदलिँदो विश्वमा मध्यस्थता’ तय गरिएको छ । सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर द्वन्द्वहरू गुणात्मक रूपमा बढ्दै गएको र ती झन् घातक, जटिल तथा समाधान गर्न कठिन बन्दै गएको चेतावनी दिनुभयो । मध्यस्थता कुनै जादुयी वा तत्काल परिणाम दिने उपाय नभए पनि सुझबुझ र दृढ संकल्पका साथ अघि बढाइएमा यसले शान्तिको सम्भावनालाई दिगो यथार्थमा बदल्न सक्ने महासचिव गुटेरेसको भनाइ थियो । उहाँले विश्वभर जारी हिंसा र हत्याको शृङ्खला अन्त्य गर्न तथा हतियार बिसाउनका लागि विश्व समुदायमा सामूहिक राजनीतिक इच्छाशक्ति आवश्यक रहेको कुरामा विशेष जोड दिनुभयो । त्यसैगरी, आयोजक राष्ट्र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि भिडियो सन्देश पठाउँदै विश्वव्यापी तनाव चुलिँदै गएको वर्तमान समयमा निरन्तर संवादको अपरिहार्यता औंल्याउनु भयो । द्वन्द्वरत पक्षहरू एकापसमा संवाद गर्न तयार नभएको र आशाका किरणहरू क्षीण हुँदै गएको परिस्थितिमा समेत कुटनीतिक प्रयास कहिल्यै त्याग्न नहुने कुरालाई टर्कीले आफ्नो मुख्य सिद्धान्त बनाएको राष्ट्रपति एर्दोगानले स्पष्ट पार्नुभयो । बढ्दो भूराजनीतिक तनाव, क्षेत्रीय युद्ध तथा मानवीय संकटका बीच शुरु भएको यस सम्मेलनले द्वन्द्व समाधानका व्यावहारिक उपाय पहिचान गर्न र अन्तर्राष्ट्रिय मध्यस्थता प्रक्रियालाई थप मजबुत बनाउन दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ ।
विश्वव्यापी संकट समाधानका लागि तत्काल कुटनीतिक पहल आवश्यकः इस्तानबुल सम्मेलन
ताजा समाचार
बडादशैँ विधिवत समापन
१ घन्टा अघि
फूलबारीबाट माछापुछ्रे–एक शरद बिहानीको कथा
२ घन्टा अघि
काठमाडौं फिल्म फेस्टिबल हेरिटेज रन सम्पन्न
३ घन्टा अघि




