अफ्रिकी मुलुक केन्यामा ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरसबाट सङ्क्रमित दोस्रो बिरामी फेला परेका छन् । केन्याली स्वास्थ्य मन्त्रालयले बुधबार औपचारिक पुष्टि गर्दै नयाँ सङ्क्रमित यसअघि पहिलो सङ्क्रमण पुष्टि भई ज्यान गुमाएका बिरामीकै नजिकका पारिवारिक सदस्य रहेको जनाएको छ । उनी पहिले नै अनिवार्य क्वारेन्टिन तथा दैनिक स्वास्थ्य निगरानीमा रहेकाले समुदाय स्तरमा यो भाइरस फैलने सम्भावना न्यून रहेको अधिकारीहरूको भनाइ छ । केन्याको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य महानिर्देशक प्याट्रिक अमोथकाअनुसार मुलुकमा हालसम्म इबोलाका दुईवटा सङ्क्रमण पुष्टि भएका छन् भने एक जनाको ज्यान गइसकेको छ । पछिल्लो पटक सङ्क्रमण पुष्टि भएका ३९ वर्षीय पुरुष पहिलो सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा रहेकाले स्वास्थ्य टोलीको कडा निगरानीमा थिए । मंगलवार ती पुरुषमा ज्वरो, अत्यधिक थकान र जोर्नी दुख्नेजस्ता लक्षणहरू देखिएपछि क्वारेन्टिन रेस्पोन्स टोलीले उनलाई तुरुन्तै छुट्टै आइसोलेसनमा सारेको थियो । त्यसलगत्तै सङ्कलन गरिएका नमूनाहरूको राष्ट्रिय भाइरोलोजी सन्दर्भ प्रयोगशाला र केन्या मेडिकल रिसर्च इन्स्टिच्युट (केम्री–सीडीसी) मा परीक्षण गर्दा दुवै ठाउँबाट नतिजा पोजेटिभ आएको मन्त्रालयले प्रष्ट पारेको छ । मन्त्रालयद्वारा राजधानी नैरोबीमा जारी विज्ञप्तिमा बिरामीलाई हाल तोकिएको विशेष उपचार केन्द्रमा राखी तालिमप्राप्त स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष रेखदेखमा उपचार सेवा दिइरहेको उल्लेख छ । ‘उनी पहिलेदेखि नै क्वारेन्टिनमा रहेका कारण रोगको समयमै पहिचान हुन सक्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘शुरुवाती चरणमै उपचार शुरु गर्दा निको हुने सम्भावना उच्च रहन्छ र प्रारम्भिक लक्षण देखिनासाथ आइसोलेसनमा राखिएकाले अरूलाई भाइरस सर्ने जोखिम पनि रोकिएको छ।’
यसअघि केन्याले अक्टोबर ६ मा पहिलो पटक इबोला सङ्क्रमणको पुष्टि गरेको थियो, जसको सम्बन्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा जारी महामारीसँग जोडिएको थियो । सात वर्षदेखि कङ्गोमा बसोवास गर्दै आएका एक केन्याली नागरिक हालै क्षेत्रीय पारवहन मार्ग हुँदै स्वदेश फर्किएका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) काअनुसार ती व्यक्तिले कङ्गोमै स्वास्थ्य परीक्षण गराएका थिए र त्यसपछि अक्टोबर २ मा बेनी हुँदै युगान्डाको कम्पालासम्म सडकमार्गबाट यात्रा गरेका थिए । त्यसपछि अक्टोबर ३ मा जाम्बोजेटको नियमित उडानमार्फत नैरोबी पुगेका उनलाई विमानस्थलको प्रारम्भिक जाँचपछि परिवारका सदस्यले सिधै नैरोबी अस्पताल पु¥याएका थिए, जहाँ उनलाई तुरुन्तै आइसोलेसनमा राखिएको थियो । गम्भीर उपचारका बाबजुद ती पहिलो बिरामीको अक्टोबर ५ मा मृत्यु भएको थियो। भाइरल हेमोरेजिक फिवरका लागि तोकिएको अन्तर्राष्ट्रिय सुरक्षित तथा मर्यादित अन्त्येष्टि मापदण्डअनुसार भोलिपल्टै उनको दाहसंस्कार गरिएको थियो। स्वास्थ्य अधिकारीहरूले हाल सीमा नाकाहरू तथा स्वास्थ्य केन्द्रहरूमा कडा निगरानी जारी राखेका छन् ।




