यमन द्वन्द्वमा सामेल नहुन साउदी नेतृत्वको गठबन्धनलाई हुथी नेताको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

यमन द्वन्द्वमा सामेल नहुन साउदी नेतृत्वको गठबन्धनलाई हुथी नेताको चेतावनी

यमनका हुथी विद्रोही समूहका नेता अब्देल–मालिक अल–हौथीले साउदी अरब नेतृत्वको सैन्य अभियानमा सामेल नहुन टर्की र पाकिस्तानलाई आग्रह गर्नुभएको छ । रियादले टर्की र पाकिस्तानसँग रक्षा सहयोग बढाउँदै गर्दा अल–हौथीले बुधवार एक टेलिभिजन सम्बोधनमार्फत दुवै मुलुकलाई द्वन्द्वको भूमरीमा नफस्न सचेत गराउनुभएको हो । हुथी नियन्त्रित अल–मसिराह टीभीमार्फत सार्वजनिक सम्बोधनमा अल–हौथीले टर्की र पाकिस्तानभित्रका केही आवाजहरूको प्रशंसा गर्दै उनीहरूले साउदी अरबको सैन्य अभियानलाई अस्वीकार गरेको दाबी गर्नुभयो ।  उहाँले कुनै विशिष्ट अधिकारी वा समूहको नाम नलिए पनि साउदी गठबन्धनमा यी मुलुकहरूको सैन्य उपस्थिति क्षेत्रीय सुरक्षाका लागि थप चुनौतीपूर्ण हुने संकेत गर्नुभयो । साउदी अरबले हालै मात्र पाकिस्तान र टर्कीसँग रक्षा समन्वय बढाएको छ । यसअघि सोमवार दुवै मुलुकले मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत साउदी अरबलाई आवश्यक सैन्य शक्ति र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । यसले यमनमा जारी द्वन्द्व थप जटिल बन्ने संकेत गरेको छ । यसैबीच अल–हौथीले साउदी अरबमाथि सैन्य कारबाही तिब्र पारेको आरोप लगाउनु भयो । उहाँले हालसम्मका कुटनीतिक प्रयासहरू विफल भएको भन्दै वार्ताको ढोका बन्द भएको घोषणा गर्नुभयो ।

उहाँले रियादले यमनका विमानस्थल, आयात र आर्थिक स्रोतहरूमाथि अझै पनि कडा प्रतिवन्ध लगाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । रणनीतिक महत्वको बाब अल–मान्देब जलडमरू मध्यको नियन्त्रण र त्यसवरिपरिको भू–भागमा हुथी विद्रोही र साउदी समर्थित सरकारी फौजबीच लडाइँ चर्किएको छ । साउदी नेतृत्वको गठबन्धनले हवाई कारबाही तिब्र पारेको छ भने हुथीहरूले पनि साउदी भूमि लक्षित ड्रोन र मिसाइल आक्रमण बढाएका छन् । सन् २०१४ मा हुथीहरूले राजधानी साना नियन्त्रणमा लिएपछि शुरु भएको यो द्वन्द्वले यमनलाई गम्भीर मानवीय संकटतर्फ धकेलेको छ ।

Leave a Reply