काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघका निःवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानूनहरु प्रभावकारी रुपमा लागू हुनुपर्ने बताउनुभएको छ । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धि लगानी र विकासका लागि कानून सुधार परामर्शको तीन दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आर्थिक सुधारका लागि तयार पारिएको सुझावलाई कार्यान्वयन गर्नसके नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्नुका साथै रोजगारी र राजश्व सिर्जनामा समेत सहयोग पुग्ने बताउनुभएको हो । ढकालले महासंघको अध्यक्ष रहँदा नै नेपालको लगानी प्रवद्र्धनसम्बन्धी कानूनहरू पुरानो र परम्परागत रहेको भन्दै तिनमा सुधारका लागि उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र बनाउनुपर्ने प्रश्ताव आफूहरूले अघि सारेको स्मरण गर्नुभयो । त्यसैको निरन्तरताका रूपमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको र आफू निजी क्षेत्रको प्रतिनिधिका रूपमा आयोगको सदस्य भएर काम गरेको बताउँदै कतिपय कानूनहरु नयाँ ल्याइएपनि कार्यान्वयनमा जान नसकेको बताउनु भयो ।ढकालले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक गरिएका सय बुँदे निर्णयमध्ये अधिकांश निर्णय निजी क्षेत्रले दिएका सुझावका आधारमा अघि बढाइएको भएपनि अझै पनि धेरै निर्णय कार्यान्वयनमा जान नसकेको बताउनु भयो ।
अहिले मुलुकमा राम्रा कानूनहरू हुँदाहुँदै पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै निःवर्तमान अध्यक्ष ढकालले कानुनको भावना र सरकार तथा आम नागरिकको अपेक्षाअनुसार कार्यान्वयन हुन नसक्दा त्यसको प्रभाव लगानीको वातावरणमा परेको बताउनु भयो । उहाँले अझै पनि आवश्यक कानूनी सुधार अध्यादेशमार्फत भए पनि जतिसक्दो छिटो अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने काममा निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँदै उहाँले स्वदेशी लगानीकर्ताले गर्ने लगानी र उनीहरूले दिने सन्देशले विदेशी लगानीकर्तालाई समेत प्रभावित गर्ने बताउनु भयो ।उहाँकाअनुसार विदेशी लगानीकर्ताले पहिलोपटक यहाँका लगानीकर्ताले के गरिरहेका छन् र उनीहरूले कस्तो सन्देश दिइरहेका छन् भन्ने हेर्छन्, अनि मात्रै लगानी गर्छन् । ढकालले हालै प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीसँगको भेटमा पनि विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र सुधारका विषयमा आफूले सुझाव दिएको बताउँदै अब कार्यान्वयन गर्ने बेला आएको बताउनु भयो ।





