काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले वर्तमान सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल भएको भन्दै आलोचना गर्नुभएको छ । सरकार लोकतन्त्र र संविधानको रक्षा गर्नुको साटो ‘विजयको उन्माद’ मा रमाएको र प्रश्न गर्ने जनतालाई होच्याउने काम गरिरहेको उहाँको आरोप छ । राष्ट्रिय सभामा बोल्दै नेता सुवेदीले सरकारले सुशासनको नारा दिएपनि व्यवहारमा भने अमानवीय र जनविरोधी काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले बेपत्ता व्यक्तिको खोजीमा रहेकी महिलाप्रति दुव्र्यवहार, अस्पतालको गेटमा सुत्केरी हुनुपर्ने बाध्यता र बालबालिकामाथिको हिंसात्मक घटनाहरूमा सरकार असंवेदनशील बनेको बताउनु भयो ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बालुवाटार बोलाएर नियन्त्रणमा राखेको भन्दै सरकारले संवैधानिक निकायको मर्यादा मिचेको आरोप लगाउनु भयो । ३५ वर्षे राजनीतिक परिवर्तनका उपलब्धिहरू ओझेलमा पार्ने प्रयास भएको उल्लेख गर्दै सुवेदीले लोडसेडिङ अन्त्य, सडक सञ्जालको विस्तार र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासलाई सरकारले बेवास्ता गरेको बताउनु भयो ।




