फुटबलमा फेरि फर्कने छु : गणेश थापा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फुटबलमा फेरि फर्कने छु : गणेश थापा

काठमाडौं, १५ फागुन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० वर्ष प्रतिबन्ध लगाएयता सोमबार गणेश थापा पहिलोपल्ट औपचारिक रूपमा मिडियासामु प्रस्तुत भए । खास कार्यक्रम उनको नेतृत्वमा गठन भएको नेपाल स्पोर्टस अर्गनाइजेसनबारे जानकारी दिन आयोजना गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव नजिक रहेको स्थितिमा पत्रकार सम्मेलन उनकै स्पष्टीकरण, धारणा, योजना र महत्त्वाकांक्षामा केन्द्रित रह्यो ।

फिफाको प्रतिबन्धबारे उनले भने, ‘यसबारे म धेरै बोल्न चाहन्न । मोहम्मद बिन हमामले मेरो छोरालाई एक लाख डलर दिएको पनि हो, म यो तथ्य पनि स्वीकार गर्छुं । तर अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षका हैसियतले मैले आर्थिक अनियमितता गरेको छैन । अहिलेसम्म जति पनि मेरोविरुद्ध छानबिन भए, ती कसैले पनि मलाई दोषी प्रमाणित गर्न सकेका छैनन् । म देशको कानुनभन्दा माथि छैन, त्यसैले ममाथि अझै छानबिन गरे हुन्छ ।’

उनले प्रतिबन्धपछि अझै नेपाली फुटबलमा फर्कन सक्ने सम्भावना जीवित रहेको बताए । ‘नेपाली फुटबललाई त्यो आवश्यक छ भने म त्यसका लागि पनि तयार छु, आखिर मलाई पनि नेपाली फुटबलको माया छ । म नेपालका लागि खेलेर स्वर्ण पदक जितेको खेलाडी हुँ । मैले जीवनको अधिकांस समय फुटबलमै बिताएँ । त्यसैले यो क्षेत्रसँग म सधैं जोडिरहेको हुनेछु ।’ एन्फा चुनावमा संस्थापनविरुद्ध लड्न लागेको कर्माछिरिङ शेर्पा समूहले पछिल्लो समय लगाएका आरोपबारे पनि उनले बोले ।

‘उनीहरूले अदृश्य शक्ति भनिरहेका छन्, त्यो के हो मलाई थाहा भएन । तर म स्पष्ट भन्छु कर्माछिरिङको समूहको जित्यो भने त्यसले नेपाली फुटबललाई राम्रो गर्ने छैन । मैले यस्तो भनेको हुँ र यसलाई लुकाउनुपर्ने केही छैन । मलाई फिफाले प्रतिबन्ध लगाए पनि आफ्नो धारणा राख्नबाट रोकेको छैन । मलाई सबैभन्दा ठूलो चिन्ता हो, कर्माछिरिङको समूहले जित्यो भने नेपाली फुटबल कुनै पार्टीको भातृ संगठनमा परिणत हुनेछ । यसैमा मलाई डर छ,’ उनले भने ।

‘अहिले नेपाली फुटबलमा जति पनि छन्, ती सबै मैले हुर्काएका र अगाडि बढाएका नै हुन् । सबैले कुनै न कुनै समय मेरो नेतृत्वमा काम गरेका छन्,’ थापाले अगाडि भने, ‘खासमा कर्माछिरिङ मेरो सबैभन्दा नजिकका मान्छे हुन् । व्यक्तिगत रूपमा उनले जितेर राम्रो काम गरे मेरो कुनै गुनासो हुने छैन । व्यक्तिगत रूपमा उहाँलाई मेरो शुभकामना छ । तर दोषमात्र लगाएर केही हुन्न । उनीहरू परिवर्तनको नारा दिइरहेका छन्, मैले यो पनि के हो बुझ्न सकेको छैन् ।’
अहिले तत्काल भने उनी आफ्नो नेतृत्वमा गठन भएको नेपाल स्पोर्टस अर्गनाइजेसनमै केन्द्रित हुनेछन् ।

तदर्थ समितिकै रूपमा रहेको यस संस्थालाई चाँडै पूर्णता दिइने जनाइएको छ । तीन महिनाभित्र राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको छ । व्यक्तिगत खेलमा बढी जोड दिने लक्ष्य राखेको यस संस्थाले लामो समयदेखि विभिन्न खेलमा आबद्ध खेलाडी तथा पदाधिकारीलाई प्रोत्साहन र सम्मान गर्ने लक्ष्य पनि राखेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);