काठमाडौं, १५ फागुन । सिरियाली निहत्था नागरिकमाथि भइरहेको शृंखलाबद्ध बम आक्रमणको नागरिक समाजका अगुवाले विरोध गरेका छन् । राजधानीको माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शन गर्दै उनीहरूले बर्बरतापूर्वक बम आक्रमण गरी बालबालिकासहित सयौं सर्वसाधारणको हत्या तथा अगंभंग पारिनु निन्दनीय अपराध भएको बताए ।
लेखक निनु चापागाईंले युद्धको विरोध र शान्तिका पक्षमा स्वत:स्र्फूत विरोध कार्यक्रम आयोजना गरिएको बताए । अधिवक्ता गोविन्द बन्दीले सिरियालीको सुरक्षा र मानव अधिकारका लागि नेपालीसमेत आन्दोलित हुनुपर्ने अवस्थाआएको बताए ।‘हिंसा र दमनले विश्वभरका मानवतावादीलाई चोट पुगेको छ,’ उनले भने। हतियारको व्यापार र तेल खानी कब्जा गर्न सिरियाली नागरिकमाथि आक्रमण गरिएको आरोप उनीहरूको थियो ।
वामपन्थी नेता साध्यबहादुर भण्डारीले मानवीय मूल्यमान्यता स्थापित गर्न विरोधमा सहभागी भएको बताए । उनले भने, ‘आक्रमणले घायल जनतालाई मल्हमपट्टीको खाँचो छ ।’ बम आक्रमणमा मारिएका र घाइते सिरियाली बालबालिकाको तस्बिर सामाजिक सञ्जालमा देखेर विरोध कार्यक्रम आयोजना गरिएको उनले बताए ।
नागरिक समाजका अगुवा रत्न श्रेष्ठले सिरियाली बालबालिका युद्धमा मारिँदा नेपालीलाई चोट पुगेको बताए । ‘सन् २०११ देखि सिरियाली जनतामाथि निरन्तर आक्रमण हुँदै आएको छ, विश्वभर मानवता जोगाउनुपर्छ,’ उनले भने । प्रदर्शनमा सहभागीले ‘अमानवीय युद्ध अपराध बन्द गर, सेभ सिरिया, स्टप वार, हतियारको व्यापार बन्द गर’ लगायत नारासहितका प्लेकार्ड बोकेका थिए ।
महिला नेत्री उषाकिरण तिमल्सिना र मुस्लिम समुदायका फिरोज आलमले युद्धको बीभत्स तस्बिरले मन कुँडिएको भन्दै शान्तिका दूत गौतम बुद्धको देशबाट विश्वलाई शान्तिको सन्देश दिनुपर्ने बताए । विरोध प्रदर्शनमा हालै माओवादी त्यागेका लोकेन्द्र विष्ट र विष्णु भण्डारीलगायतको उपस्थिति थियो ।
सोमबारै बालअधिकारका लागि राष्ट्रिय अभियान र काठमाडौं उपत्यका बालक्लब सञ्जालले सिरियामा बालबालिकामाथि भएको हिंसा र हत्याको विरोधमा रूसी दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन र दीप प्रज्ज्वलन गरे । मृतक बालबालिकाका नाममा दीप प्रज्ज्वलन गरिएको अभियानकी पवित्रा भट्टराईले बताइन् । मंगलबार अमेरिकी दूतावासअगाडि पनि यस्तै प्रदर्शन गरिने उनले जानकारी दिइन् ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।