विश्व व्यवस्थामा ‘ नेटवर्क्ड मल्टिपोलारिटी’को खाँचोः संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

विश्व व्यवस्थामा ‘ नेटवर्क्ड मल्टिपोलारिटी’को खाँचोः संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो भू–राजनीतिक ध्रुविकरण र अस्थिरतालाई चिर्न ‘नेटवक्र्ड मल्टिपोलारिटी’ (सञ्जालमा आधारित बहुध्रुवियता) को अवधारणा अघि सार्नुभएको छ । न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा जारी महासभाको बहसलाई सम्बोधन गर्दै उहाँले विश्वलाई विभाजन र शून्य–योगको खेलबाट बाहिर ल्याउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको औंल्याउनुभएको हो । महासचिव गुटेरेसले वर्तमान विश्व व्यवस्थाको प्रवृत्ति चिन्ताजनक रहेको उल्लेख गर्दै यसलाई ‘विभाजन र लेनदेनको संस्कृति’बाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘हामी बहुध्रुवीयतातर्फ उन्मुख छौँ र यो प्रक्रिया अपरिवर्तनीय छ, तर बहुध्रुवीयताले कस्तो आकार लिन्छ भन्ने कुरा हाम्रो रोजाइमा भर पर्छ ।’
उहाँले विश्वका दुई ठूला प्रतिष्पर्धी शक्तिहरूका बीचमा हुने ‘ग्रेट फ्र्याक्चर’ वा विश्व विभाजनको खतरालाई औंल्याउँदै कुनै पनि एक शक्तिले मात्रै आजका जटिल समस्याहरू हल गर्न नसक्ने स्पष्ट पार्नुभयो । सैन्य बल, आर्थिक प्रभुत्व वा प्रविधिले मात्रै विश्व सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताउँदै उहाँले अन्तर्राष्ट्रिय कानून र साझा नियममा आधारित सहकार्यलाई नै प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
गुटेरेसकाअनुसार स्वस्थ प्रतिस्पर्धा नवाचारका लागि आवश्यक छ, तर त्यो प्रतिष्पर्धाले द्वन्द्वको रूप लिनु हुँदैन । उहाँले विश्वका महाशक्तिहरूलाई आफ्नो प्रभावको सीमा पहिचान गर्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघको बडापत्र नै २१ औँ शताब्दीको शक्तिको अभ्यासका लागि मुख्य आधार हुनुपर्ने बताउनु भयो ।
आगामी दिनका लागि उहाँले चारवटा प्रमुख परीक्षाका बिन्दुहरू समेत किटान गर्नुभएको छ । युद्ध र शान्तिको शक्ति, बढ्दो असमानता र धनको केन्द्रीकरण, जलवायु परिवर्तन र कृत्रिम बुद्धिमत्ताको नियमन । यी चुनौतीहरूको सामना गर्न संस्थागत सुधार र वर्तमान विश्वको यथार्थ सुहाउँदो बहुपक्षीय प्रणालीको निर्माण अपरिहार्य रहेको उहाँको जोड छ ।

Leave a Reply

ताजा समाचार