कविना बलामी,काठमाडौँ । २०औँ एसियाडको तयारीमा नेपाली खेलाडीहरू जुटिरहेका छन्। एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने उसु खेलाडीहरू पनि नियमित प्रशिक्षणमा व्यस्त छन्। तर अन्तर्राष्ट्रिय प्रशिक्षण, भत्ता र हवाई टिकटलगायतका विषयमा देखिएको आर्थिक तथा व्यवस्थापकीय समस्याले उनीहरूको तयारीमा चुनौती थपिएको छ ।
खेलका लागि आवश्यक स्रोतसाधनको अभाव र विभिन्न चुनौतीका बीच पनि उशुका खेलाडीहरूले आफ्नो प्रदर्शन सुधार गर्न निरन्तर मेहनत गरिरहेका छन्। उशु खेलका खेलाडीहरूका लागि आफ्नै प्रशिक्षण हलसमेत छैन। पर्याप्त सुविधा र पूर्वाधारको अभाव हुँदाहुँदै पनि उनीहरू नियमित अभ्यास गर्दै आएका छन् र एशियाड जस्तो ठूलो खेलमा उनीहरु प्रतिस्पर्धा गर्दै छन् । सरकारले खेलाडीहरूलाई आवश्यक भत्ता तथा अन्य सुविधा उपलब्ध गराउन नसके पनि आफ्नै मेहनत र लगनशीलताका कारण उनीहरू यो स्तरसम्म आइपुगेका छन्। यस्तै समस्या नै समस्याबाट गुज्रिरहेको बेला फेरि अर्को चुनौती थपिएको छ । एसियाडमा सहभागी हुने खेलाडीहरूलाई वैदेशिक प्रशिक्षणमा पठाउने राष्ट्रिय खेलकुद परिषद्को योजना थियो। सोहीअनुसार उसुका खेलाडी र प्रशिक्षकले पनि वैदेशिक प्रशिक्षणको तयारी गरेका थिए। खेलाडी तथा प्रशिक्षकहरूले करिब एक महिनासम्म चीनमा प्रशिक्षण गर्ने अवसर पाए। तर उक्त प्रशिक्षणका लागि सरकारबाट पर्याप्त बजेट उपलब्ध हुन नसक्दा समस्या देखिएको छ । प्रशिक्षणका क्रममा लागेको खर्च भने सरकारले व्यहोरेको थिएन। यसले खेलाडी र प्रशिक्षकलाई आर्थिक तथा व्यवस्थापकीय चुनौती थपिएको छ । त्यस्तै, खेलाडीलाई उपलब्ध गराउनुपर्ने दैनिक भत्ता र चीन जाने–आउने हवाई टिकटको विषयमा समेत समस्या देखिएको छ ।
प्रतियोगिताको तयारीमा आर्थिक तथा व्यवस्थापकीय समस्या भए पनि उसु खेलाडीहरूको प्रशिक्षण भने रोकिएको छैन। खेलाडीहरू नियमित रूपमा प्रशिक्षणमा सहभागी हुँदै आफ्नो खेल कौशल सुधारिरहेका छन्। लामो समयदेखि गरिएको अभ्यास र खेलाडीहरूको मेहनतकै कारण उसुमा प्रतिस्पर्धात्मक टोली तयार भएको उशु संघका महासचिवको भनाइ छ।अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्न खेलाडीको व्यक्तिगत मेहनतसँगै नियमित प्रशिक्षण, अन्तर्राष्ट्रिय स्तरको अभ्यास, पर्याप्त खेल सामग्री, वैदेशिक प्रशिक्षण र आर्थिक व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तर यी पक्षमा देखिने कमजोरीले खेलाडीको तयारीलाई प्रभावित पार्न सक्छ। विशेषगरी एसियाडजस्तो ठूलो प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीलाई आवश्यक सुविधा र प्रशिक्षणको सुनिश्चितता गर्नुपर्ने देखिन्छ।
समस्याका बाबजुद उसु खेलाडीहरू एसियाडमा नेपालको झण्डा उचो बनाउने लक्ष्यसहित निरन्तर प्रशिक्षणमा छन्। पछिल्लो समय सरकारले खेलकुद क्षेत्रलाई केही प्राथमिकता दिएको देखिए पनि खेलाडीको तयारीलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण, भत्ता, खेल सामग्री र वैदेशिक प्रशिक्षणका लागि आवश्यक सहयोग समयमै उपलब्ध गराउनुपर्ने देखिन्छ। खेलाडीको मेहनतसँगै राज्यको पर्याप्त सहयोग र व्यवस्थापन हुन सके मात्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा अपेक्षित नतिजा हासिल गर्ने आधार बलियो बन्न सक्छ।




