दलभित्रको नेतृत्व परिवर्तनबारे संविधानमै व्यवस्था गर्नुपर्छः सुरेन्द्र पाण्डे | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

दलभित्रको नेतृत्व परिवर्तनबारे संविधानमै व्यवस्था गर्नुपर्छः सुरेन्द्र पाण्डे

काठमाडौँ ।  नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व परिवर्तनको विषयमा संविधानमै स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशकः अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा राजनीतिक दलको भुमिका महत्वपूर्ण भएपनि दल कस्तो हुनुपर्ने र संविधानले राजनीतिक दललाई कसरी निर्देशित गर्ने भन्ने विषयमा पर्याप्त छलफल हुन नसकेको बताउनु भयो । पाण्डेले संविधानमै कुनै व्यक्तिले एकपटकभन्दा बढी दलको अध्यक्ष वा सभापति बन्न नपाउने व्यवस्था गरिएको भए नेतृत्वमा पुस्तान्तरणको बहस स्वतः सम्बोधन हुने बताउनु भयो । उहाँले अहिले केही राजनीतिक दलमा नेतृत्व परिवर्तनको विषय चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै यो विषय भविष्यमा अन्य दलमा पनि उठ्ने बताउनु भयो । पाण्डेले राजनीतिक दललाई ‘पुरानो’ र ‘नयाँ’ भनेर मात्र वर्गीकरण गर्नु उपयुक्त नभएको बताउनु भयो । समाजमा पुस्ता परिवर्तन निरन्तर भइरहने भएकाले एउटा दललाई पुरानो र अर्को दललाई नयाँ भनेर छुट्याउने विषय स्थायी नभएको उहाँको भनाइ छ । उहाँकाअनुसार विगतमा संविधान निर्माणका क्रममा राजनीतिक दलका एजेन्डा र नेतृत्व परिवर्तनको व्यवस्थाबारे पर्याप्त बहस हुन सकेन । संविधान निर्माणमा अन्य विषयमा बढी केन्द्रित हुँदा दलभित्रको लोकतन्त्रजस्तो महत्वपूर्ण विषय ओझेलमा परेको उहाँले बताउनु भयो । पाण्डेले लोकतन्त्रका लागि संघर्ष गर्ने राजनीतिक दलहरू स्वयं लोकतान्त्रिक ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । दलहरूभित्र लोकतान्त्रिक अभ्यास बलियो नभएसम्म समग्र लोकतान्त्रिक पद्धति प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा राजनीतिक दल कस्तो हुनुपर्छ र संविधानले दलहरूलाई कसरी निर्देशित गर्नुपर्छ भन्ने विषयमा पर्याप्त छलफल हुन सकेन । यदि संविधानमै कुनै व्यक्ति एकपटकभन्दा बढी दलको अध्यक्ष वा सभापति हुन नपाउने व्यवस्था गरिएको भए पुस्तान्तरण र जेनेरेसनल चेन्जको मुद्दा स्वतः सम्बोधन हुन्थ्यो । दलमा नयाँ वा पुरानो भन्ने कुरा पनि सापेक्ष हो । समयसँगै नेतृत्व र पुस्ता परिवर्तन भइरहन्छन् । त्यसैले दलको उमेरभन्दा महत्वपूर्ण कुरा उसले लिने एजेन्डा र अपनाउने लोकतान्त्रिक पद्धति हो । लोकतन्त्रका लागि लड्ने राजनीतिक दल आफैँ लोकतान्त्रिक हुनुपर्छ । दलभित्र लोकतान्त्रिक अभ्यास र नेतृत्व परिवर्तनको व्यवस्था बलियो नभएसम्म समग्र लोकतान्त्रिक प्रणाली पनि प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैन । त्यसैले दलभित्रको लोकतन्त्र, नेतृत्व परिवर्तन र अध्यक्ष वा प्रधानमन्त्री बन्ने विषयमा संविधानले कति र कसरी निर्देशित गर्नुपर्छ भन्ने विषयमा गम्भीर बहस आवश्यक छ ।’
उहाँले राजनीतिक दलको अध्यक्ष वा प्रधानमन्त्री बन्ने विषयमा समेत व्यक्तिको कार्यकाल तथा नेतृत्वको अवसर कति पटकसम्म रहने भन्नेबारे संविधानले नै मार्गनिर्देशन गर्नुपर्ने विषयमा अब गम्भीर छलफल आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार