यमनको हुथी समूहले बुधवार साँझ उत्तरपूर्वी मारिब प्रान्तमा साउदी अरबको सशस्त्र टोही ड्रोन खसालेको दाबी गरेको छ । साथै, यमनको पश्चिमी तटमाथि प्रवेश गरेका साउदी लडाकु विमानलाई समेत अवरोध गरेको समूहले जनाएको छ । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनमा प्रसारित वक्तव्यमा समूहका सैन्य प्रवक्ता याह्या सरियाले मारिबको आकाशमा ‘शत्रुतापूर्ण गतिविधि’ गरिरहेको साउदी ड्रोनलाई उपयुक्त हतियार प्रयोग गरी खसालिएको बताउनुभएको छ । सरियाकाअनुसार स्थानीय समयअनुसार बुधबार साँझ ६ः४० बजे साउदी अरबको दक्षिणपश्चिमी क्षेत्रमा रहेको खमिस मुशैत हवाई आधारबाट उडेका दुई समूहका ँ–१५ लडाकु विमान यमनको पश्चिमी तटीय क्षेत्रतर्फ प्रवेश गरेका थिए । ती विमानहरू ताइज प्रान्तको मोखा क्षेत्रको हवाई क्षेत्रमा प्रवेश गरेपछि हुथी सेनाले स्थानीय रूपमा निर्मित जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रयोग गरी तिनलाई अवरोध गरेको सरियाले दाबी गर्नुभयो । उहाँका अनुसार विमानहरू कुनै ‘शत्रुतापूर्ण कारबाही’ गर्नुअघि नै क्षेत्रबाट फर्किएका थिए । यसअघि बुधबार नै हुथी समूहले मारिबमाथि स्थानीय रूपमा निर्मित जमिन–आकाश क्षेप्यास्त्र प्रयोग गरी साउदी–१५ लडाकु विमान खसालेको दाबी गरेको थियो । हुथी समूहले बुधवार साउदी अरबले पछिल्लो एक सातामा यमनका सात प्रान्तमा ४५० भन्दा बढी हवाई आक्रमण गरेको आरोपसमेत लगाएको छ । हुथीका पछिल्ला दाबीबारे साउदी पक्षबाट तत्काल स्वतन्त्र पुष्टि वा विस्तृत प्रतिक्रिया सार्वजनिक भएको उल्लेख छैन । हुथी समूहले यमनको लाल सागर तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेको दाबी गर्दै आएको छ । समूहले सेप्टेम्बर १० मा रणनीतिक बन्दरगाह सहर मोखा कब्जामा लिएको र त्यसको भोलिपल्ट बाब अल–मन्देब जलडमरूको केन्द्रमा रहेको मायुन द्वीप आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । बाब अल–मन्देब जलडमरू लाल सागरलाई एडेनको खाडीसँग जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो र अन्तर्राष्ट्रिय जल यातायातका लागि रणनीतिक महत्व राख्छ । यमनको द्वन्द्व सन् २०१४ को अन्त्यतिर शुरु भएको थियो । त्यसबेला हुथी समूहले राजधानी सानासहित उत्तरी यमनको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसयता देश लामो समयदेखि सशस्त्र द्वन्द्वको चपेटामा रहँदै आएको छ ।




