काँग्रेस सभापति गगन थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

काँग्रेस सभापति गगन थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहले संसद र संसदीय समितिलाई महत्व नदिएको आरोप लगाउनुभएको छ ।
सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दे उहाँले प्रधानमन्त्री साहले संसदलाई बेस्वास्ता गर्दै आएको बताउनुभएको हो । प्रधानमन्त्रीले संसदको संस्थागत भूमिका र संसदीय समितिको मर्यादालाई पर्याप्त महत्व दिनुपर्ने उहाँले बताउनु भयो । प्रमुख प्रतिपक्षी दलका नेता संसदमा बोल्दा समेत प्रधानमन्त्रीको उपस्थित नरहने गरेको उल्लेख गर्दै उहाँले सरकारको नेतृत्वबाट संसदलाई बेवास्ता गर्ने अवस्था बन्न नहुनेमा जोड दिनुभयो । उहाँले रसुवा बाढीपछिको विपद् व्यवस्थापनमा उच्चस्तरीय संसदीय समिति बनाउने सर्वदलिय निर्णयलाई प्रधानमन्त्रीले स्वीकार नगरेमा समस्या हुने बताउनु भयो । यस विषयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई ध्यानाकर्षण गराएको उहाँको भनाई छ । संसदीय समितिलाई महत्वपूर्ण जिम्मेवारी दिइएपनि प्रधानमन्त्री स्वयंले समितिको काम र मर्यादालाई सम्मान नगर्ने अवस्था आएमा त्यसले समस्या निम्त्याउने उहाँले बताउनु भयो । उहाँले कांग्रेसले सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै संसदीय समितिमा बसेर काम गर्ने बताउनु भयो । समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले ग्रहण गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले संसदीय समिति गठन गर्दा त्यसको कार्यक्षेत्र, जिम्मेवारी र आगामी कामबारे प्रधानमन्त्रीसँग शुरुदेखि नै संवाद गर्न रास्वपा सभापतिलाई सुझाव दिएको बताउनु भयो । यसो गर्दा समितिले तयार गर्ने प्रतिवेदन कार्यान्वयनका क्रममा सरकार र संसदबीच असमझदारी नहुने उहाँको भनाइ छ । संसदीय समिति गठनको विषयमा दलहरूबीच सहकार्य जारी रहने उहाँले बताउनु भयो । एक साताभित्र संसदीय समिति गठनका लागि सभामुखलाई औपचारिक रूपमा आग्रह गर्ने विषयमा बैठकमा समझदारी भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार