काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारले विपद् प्रतिकार्यमा जुट्न आम नागरिकको लागि वातावरण निर्माण नगरेकोप्रति आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्र्थापनाको काम प्रभावकारी रुपमा हुन नसकेको बताउनु भयो । उहाँले प्रभावित क्षेत्रमा सामाजिक सञ्जालमा फैलिएको सूचनाभन्दा अवस्था गम्भीर रहेको बताउनु भयो । उहाँले सरकारले अझै पनि खोज, उद्धार तथा राहत वितरणका कारणमा स्वदेशी तथा विदेशी विज्ञ टोलीको सहयोग लिनुपर्नेमा जोड दिनुभयो । सरकार आफू पनि नगर्ने र अरु नागरिकलाई समेत काम गर्न नदिने प्रवृत्तिको कारण ठूलो मानवीय क्षति भएको राईको भनाइ छ । उहाँले सरकारसँग समन्वय गरेर काम गर्छु भन्दा पनि गर्न नदिने यो कस्तो देश हो ? भन्दै प्रश्न गर्नुभयो ।




