बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई रोजगारी दिन सांसद भण्डारीको माग | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई रोजगारी दिन सांसद भण्डारीको माग

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका शिक्षक द्वारिकाप्रसाद दंगालकी श्रीमतीलाई उहाँको रिक्त शिक्षक पदमा नियुक्त गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले सरकारसँग माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल भोटेकोशी बाढीपछि बेपत्ता रहेको र अहिलेसम्म जीवित रहेको कुनै जानकारी प्राप्त नभएको बताउनुभएको हो । दंगाल परिवारको मुख्य आम्दानीको आधार रहेको उल्लेख गर्दै उहाँले उहाँ बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था कमजोर बनेको बताउनु भयो । दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत रहेको भन्दै आवश्यक प्रक्रिया पूरा गरेर उहाँलाई श्रीमानको रिक्त शिक्षक पदमा नियुक्त गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले दंगालजस्तै भोटेकोशी बाढीको विपत्तिमा धेरै पेशाकर्मी बेपत्ता भएको उल्लेख गर्दै उनीहरूका परिवारलाई सरकारले विशेष रूपमा सम्बोधन गर्नुपर्ने बताउनु भयो । बेपत्ता तथा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको सुनिश्चितता गर्न सकिने भन्दै सांसद भण्डारीले दंगाल परिवारबाटै यसको शुरुवात गर्न सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘रसुवा भोटेकोशी बाढीमा सर्लाहीको हरिपुर–७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक द्वारिकाप्रसाद दंगाल बेपत्ता हुनुभएको छ । उहाँको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन । उहाँ परिवारको मुख्य आयस्रोत हुनुहुन्थ्यो । उहाँ बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था अत्यन्त कठिन बनेको छ । उहाँकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापन गराउँदै आउनुभएको छ । मेरो सरकारसमक्ष अनुरोध छ । द्वारिकाप्रसाद दंगाल बेपत्ता भएपछि रिक्त भएको शिक्षक पदमा प्रचलित कानून र आवश्यक प्रक्रिया पूरा गरी उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गरियोस् । यसले विपत्तिमा परेका परिवारप्रति राज्यको साथ र संवेदनशीलता देखाउनेछ । द्वारिकाप्रसाद दंगालजस्तै भोटेकोशीको विपत्तिमा धेरै पेशाकर्मी बेपत्ता हुनुभएको छ । उहाँहरू फर्केर आउने सम्भावना न्युन हुँदै गएको अवस्थामा बेपत्ता तथा मृतकका परिवारलाई राज्यले विशेष संरक्षण र सहयोग दिन आवश्यक छ । त्यसैले, दंगाल परिवारबाट शुरुवात गर्दै विपत्तिमा आफ्ना परिवारका सदस्य गुमाएका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर तथा सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने विशेष व्यवस्था गर्न म सरकारसमक्ष हार्दिक आग्रह गर्दछु । यो सम्भव छ र यसले विपत्तिमा परेका परिवारलाई राज्य उनीहरूको साथमा छ भन्ने भरोसा दिलाउनेछ ।’विपत्तिमा परिवारका सदस्य गुमाएका परिवारलाई राज्यको संरक्षणको अनुभूति गराउन रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी विशेष व्यवस्था आवश्यक रहेको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार