काठमाडौँ ।
प्रतिनिधिसभा सांसदहरुले अस्पतालको बिल तिर्न नसकेर अस्पतालबाहिर सुत्केरी हुनुपर्ने अवस्था आउनु लज्जास्पद भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।बिहीवार बसेको बैठकमा सांसदहरुले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी एक सुत्केरी महिलाले आर्थिक अभावको कारण अस्पताल बाहिर सुत्केरी हुनु परेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले राजविराज नगरपालिका–१४ परसाही टोलकी बबिता पासवानले प्रसव पीडाका क्रममा अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कर्णका अनुसार अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्न भनेपनि पासवानसँग २ हजार ५ सय रुपैयाँ मात्र रहेको जानकारी गराएपछि उपचारमा आनाकानी गरिएको हो ।
७ सय रुपैयाँ अपुग भएपछि अस्पतालले उपचार नगरेको कारण अस्पतालको गेटबाहिरै शिशु जन्मिएको कर्णले बताउनुभयो । उहाँले गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीका गरिब, विपन्न तथा निम्न आय भएका नागरिकका लागि उपचारको प्रमुख केन्द्र भएपनि आर्थिक अभावकै कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु आपत्तिजनक भएको बताउनुभयो । उहाँले घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कारबाही गर्न माग गर्नुभयो ।रास्वपा कै सांसद अंकिता ठाकुरले पनि घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै आर्थिक अवस्था कमजोर भएकै कारण बिरामीले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न माग गर्नुभयो । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले आर्थिक अभावका कारण सुत्केरीले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने घटना गम्भीर विषय भएको बताउनुभयो । उहाँले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।सांसदहरुले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भएको घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।




