संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरूलाई ‘युएन८ओ’ पहल अन्तर्गतका सुधार प्रक्रियाहरूलाई थप प्रभावकारी र सुदृढ बनाउन आह्वान गर्नुभएको छ । महासभाको ८१ औँ सत्रको तयारी भइरहँदा महासचिव गुटेरेसले यस सुधार अभियानलाई केवल निरन्तरता मात्र नभई अझ गहिरो र अर्थपूर्ण बनाउन जोड दिनुभएको हो । संयुक्त राष्ट्रसंघको ८० औँ वार्षिकोत्सवका अवसरमा सन् २०२५ मार्चमा शुरु गरिएको यो वृहत सुधार प्रक्रियाका बारेमा महासभालाई ब्रिफिङ गर्दै महासचिवले भन्नुभयो, ‘हामी ८१ औँ सत्रतर्फ अघि बढ्दै गर्दा, म सदस्य राष्ट्रहरूलाई ‘युएन८ओ’ को गति कायम राख्न मात्र नभई यसलाई थप प्रभावकारी बनाउन आग्रह गर्दछु ।’ उहाँले ठोस निर्णयहरू लिन, उपलब्ध संयन्त्रको प्रयोग गर्न र नतिजामा आधारित काम गर्न सदस्य राष्ट्रहरूलाई उत्प्रेरित गर्नुभयो ।
महासचिव गुटेरेसले संस्थाको ऐतिहासिक जिम्मेवारीको स्मरण गराउँदै भन्नुभयो, ‘८० वर्षअघि हाम्रा पूर्वजहरूले एउटा कठिन विश्वलाई सम्हाल्न सक्ने सक्षम संस्थाको आवश्यकता महशुस गरेर संयुक्त राष्ट्रसंघको स्थापना गरेका थिए । अहिले त्यो जिम्मेवारी हाम्रो काँधमा छ ।’ उहाँले आफूहरूले पाएको भन्दा अझ बलियो, अनुशासित र साधन–स्रोतको सही परिचालन गर्न सक्ने संयुक्त राष्ट्रसंघ भावी पुस्तालाई हस्तान्तरण गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो ।
‘युएन८ओ’ पहल हाल तेस्रो चरणमा प्रवेश गरेको छ, जुन निर्णय र कार्यान्वयनमा केन्द्रित छ । यसअघिका पहिलो र दोस्रो चरणहरू क्रमशः सम्भावनाहरूको पहिचान र ती सम्भावनाहरूको परीक्षण एवं मार्गचित्र निर्माणमा केन्द्रित थिए । यस पहलले मुख्यतया संयुक्त राष्ट्रसंघको सचिवालयको कार्यदक्षतामा सुधार, कार्यादेश (म्यान्डेट) कार्यान्वयनको समीक्षा, र संरचनागत एवं कार्यक्रमगत पुनर्गठनलाई प्राथमिकता दिएको छ ।
सम्बोधनका क्रममा महासचिवले थप्नुभयो, ‘युएन८ओ’ को वास्तविक सफलताको मापन भविष्यमा यो संस्थाले कसरी कार्य गर्छ र विश्वभरका जनताले यसको सेवालाई कत्तिको छिटो, छरितो र प्रभावकारी रूपमा महशुस गर्छन् भन्ने आधारमा हुनेछ ।’
आगामी महिनाहरूमा आफू यस सुधार प्रक्रियालाई पूर्णता दिन र हाल भइरहेका परिवर्तनहरूलाई संस्थागत गर्न पूर्ण रूपमा केन्द्रित हुने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । महासचिव गुटेरेसले यो पहललाई सफल बनाउन सदस्य राष्ट्रहरूको सक्रिय सहकार्य र जिम्मेवारीपूर्ण भुमिका अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।





