काठमाडौँ ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट ज्यान गुमाउन पुगेको १ हजार १० जनाको शव फेला परेको छ । परराष्ट्र मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन गरी १ हजार १० जनाको शव फेला परेको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार ४ हजार व्यक्ति अझै बेपत्ता रहेका छन् । वाढी प्रभावित ११ हजार ८ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएकामध्ये करिव ३२४ जना विदेशी नागरिक छन् । ३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै बेपत्ता रहेको उहाँले जानकारी दिनुभयो । वाढी प्रभावितहरुको खोजी, उद्धार, स्थानान्तरण र राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार सरकारको तत्कालीन प्राथमिकता मानव जीवन बचाउने, बेपत्ता व्यक्तिको खोजी तथा जीवितको उद्धार, तत्काल राहत उपलब्ध गराउने र प्रभावित नेपाली तथा विदेशी नागरिकलाई आवश्यक सहयोग सुनिश्चित गर्ने रहेको छ । सुरुङमा फसेकाहरुको खोज तथा उद्धारका लागि भारत र चीनबाट आएका दुई टोली परिचालन गरिएको उहाँको भनाई छ ।
भारतबाट दुई टोलिमा २४ सदस्यीय विशेष सुरुङ उद्धार टोली र चीनबाट नौ सदस्यीय टोली जलविद्युत् आयोजनाको सुरुङमा परिचालित छन् । भारतीय टोलीले चिलिमे र लाङटाङ जलविद्युत् आयोजनामा नेपाली सेनासँग सहकार्य गरिरहेको छ भने चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ए आयोजना क्षेत्रमा नेपाली सेनासँग समन्वय गरी खोजी गरिरहेको छ । दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आएको उहाँले जानकारी दिनुभयो । मृतकको पहिचानका लागि भारतबाट आएको १९ सदस्यीय फरेन्सिक टोलीले गत २९ अगस्टदेखि नेपाली सम्बन्धित निकायसँग काम गरिरहेको उहाँले जानकारी दिनुभयो । चीनबाट चार सदस्यीय फरेन्सिक टोली मंगलाबार साँझ नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो । सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउने विषयमा पनि समन्वय भइरहेको उहाँले बताउनु भयो ।
यस्तै शव फेला परेका तर तत्काल पहिचान गर्न नसकिने शवलाई फरेन्सिक प्रक्रिया र डीएनए नमुना संकलनपछि अस्थायी रूपमा जमिनमुनी व्यवस्थापन गरेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । पहिचान खुलेपछि परिवारलाई शव उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको उहाँको भनाई छ । बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । विदेशी नागरिकको खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित देश, नेपाली कूटनीतिक नियोग तथा बेपत्ता विदेशी नागरिकका परिवारसँग समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताउनु भयो ।सरकारले लिडार, बेली ब्रिज, फ्रिजर, डीएनए परीक्षण किट, भारवहन उपकरण, शव राख्ने ब्याग, उच्च क्षमताका ड्रोन र जीन सिक्वेन्सरसहितका उपकरण उपलब्ध गराउन अन्तर्राष्ट्रिय साझेदारसँग अनुरोध गरेको छ । विपद्बाट भएको क्षतिको मूल्यांकन गर्ने काम पनि सरकारले गरिरहेको छ । सरकारले बाढीपछि राहत उद्धार र पुनर्निर्माणको लागी मित्र राष्ट्रसंग कूटनीतिक रुपमा सहायता परिचालनका लागि समन्वय गरिरहेको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालले जापान, कतार, सिंगापुर र मलेसियाका समकक्षीसँग सोमबार टेलिफोन वार्ता गर्नुभएको थियो भने मंगलवार साँझ क्यानडाका समकक्षीसँग टेलिफोन वार्ता हुने कार्यक्रम रहेको छ ।




