काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका विभिन्न क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारु गर्ने कार्यलाई तिब्रता दिएको छ । प्राधिकरणका सदस्य अंशुकिरण शाहीकाअनुसार बाढी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ । प्राधिकरणले दिएको जानकारीअनुसार नुवाकोटका खरानीटार, समुद्रटार, चौघडा, लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत सुचारु गरिसकिएको छ । यस्तै, बालाजु र त्रिशुलीको ६६ केभी प्रशारण लाइनमार्फत ११ केभी लाइन तानेर नुवाकोट जिल्लाभर आजै अपराह्नसम्म विद्युत सेवा पु¥याउने लक्ष्य राखिएको छ । यसैगरी, पृथ्वी राजमार्ग अन्तर्गतको मलेखु, गजुरी र मुग्लिङ क्षेत्रमा पनि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ ।
धादिङबेसीदेखि रातामाटे जोड्ने ३३ केभी प्रशारण लाइन मर्मत गरी सञ्चालनमा आएसँगै ती क्षेत्रमा विद्युत आपूर्ति सुचारु भएको शाहीले जानकारी दिनुभयो । रसुवा जिल्लाको हकमा भने हाल क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ । प्राधिकरणले गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको र आगामी एक हप्ताभित्र रसुवामा विद्युतीकरण गर्ने योजना बनाएको छ । यद्यपि, हाल त्यस क्षेत्रमा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखिएको प्राधिकरणको भनाइ छ । त्रिशुली ३ ‘ए’ लगायतका जलविद्युत आयोजनाहरूमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्रभावित स्थानीयको उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक लगायतको उच्चस्तरीय टोली हाल नुवाकोटमै खटिएर वस्तुस्थितिको अनुगमन गरिरहेको छ ।




